१ असार २०८३, सोमबार | Mon Jun 15 2026

देवघाटलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने

१ साउन,चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले देवघाट क्षेत्रलाई महत्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने बताउनुभएको छ ।

देवघाट संरक्षण प्रतिष्ठानले आज देखि देवघाटमा आयोजना गरेको चौथो वोलो ॐ महोत्सबको उद्घाटन गर्दै उहाँले देवघाट धार्मिक रुपमा महत्वपूर्ण रहेकाले यसलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने बताउनुभयो ।

मन्त्री अधिकारीले देवघाट क्षेत्र विकास समितिले वनाएको गुरुयोजनालाई कार्यान्वयन गर्न सरकारले सक्दो सहयोग गर्ने बताउँदै स्रोतको खोजी गरेर यस क्षेत्रलाई नयाँ तरीकाले विकास गर्ने योजनामा सरकार छ भन्नुभयो ।
केही धार्मिकस्थललाई मात्रै केन्द्रीय सरकारको मतहतमा राखेको बताउँदै उहाँले देवघाट स्थानीय तहमा राख्ने वा प्रदेशमा राख्ने भन्ने विषय केही दिनमा टुङ्गो लाग्ने धारणा व्यक्त गर्नुभयो ।

मन्त्री अधिकारीले भन्नुभयो, “म यस क्षेत्रलाई संघमा राख्ने प्रस्ताव गर्ने छु तर के हुन्छ भन्न सकिदैन ।”

दुई प्रदेश जोड्ने पर्यटकीय क्षेत्रलाई संविधानत प्रदेशमा राख्ने रहेको बताउँदै उहाँले प्रदेश सरकारको मातहतमा रहे पनि केन्द्रीय सरकारको प्रत्यक्ष निगरानीमा यस क्षेत्रको विकास गरिनेछ भन्नुभयो ।

प्रदेशसभा सदस्य गीता वाग्ले, रिना गुरुङ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य देवी ज्ञावली, समाजसेवी शम्भू उप्रेती, प्रतिष्ठानका अध्यक्ष अम्बिका अधिकारीलगायतले यस क्षेत्रको विकास स्थानीय तह र प्रदेशले मात्रै सम्भव नहुने भएकाले यसलाई संघमा राखेर विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका संयोजक देवीराम घिमिरेले धार्मिक पर्यटकीय क्षेत्रको रुपमा देवघाटलाई विकास गर्ने उद्देश्यका साथ ३० फिट अग्लो धातुबाट निर्मित शिवको मूर्ति निर्माणको काम भइरहेको बताउँदै यस क्षेत्रको संरक्षणका लागि राज्यले पहल गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

महोत्सव हरेक वर्ष साउन १ देखि मसान्तसम्म चल्दै आएको छ । विशेष गरी साउनको सोमबार ठूलो संख्यामा तीर्थयात्री देवघाट जाने गर्दछन् । साउनमा देवघाटमा स्नान गरेमा पूण्यप्राप्ति हुने जनविश्वास रही आएको छ ।

प्रकाशित मिति : July 17, 2018 at 8:24 pm