२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

नुवाकोटको वैकल्पिक राजमार्ग परिकल्पना गरिएको सडक कृषिमा रूपान्तरण (भिडियो)


२५ साउन, काठमाडौँ । काठमाडौँको तिनपिप्लेदेखि नुवाकोटको ककनी र बेलकोटगढी हुँदै गल्छी जोड्ने सडक सुरूमा पृथ्वी राजमार्गको वैकल्पिक सडकका रूपमा प्रस्ताव गरिएको थियो तर अहिले कृषि सडक बन्न पुगेको छ । सुरूमा संघीय सरकार मातहत रहेको तिनपिप्ले–ओखरपौवा–गल्छी सडक अहिले प्रदेश सरकार मातहत रहेको छ । विभिन्न बहनामा म्याद थप्दै सूर्यचन्द्र कन्सट्रक्सनले ३३ महिनामा हुनुपर्ने काम ६ वर्षमा पनि पूरा गरेको छैन ।

ककनी गाँउपालिका वडा नम्बर २ का स्थानीय पूर्व शिक्षक समेत रहेका सिताराम घिमिरे ठेकेदार र राजनीतिक दलका प्रतिनिधिहरूको गैरजिम्मेवार कामका कारण वैकल्पिक राजमार्ग भनेर परिकल्पना गरिएको सडक कृषिमा रूपान्तर हुनुपगेको र त्यो पनि समयमा काम हुन नसकेको बताउँछन । त्यस्तै ककनी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष चन्द्रबहादुर बलामी ठेकेदारको पटक पटक ध्यानाकर्षण गराए पनि काम नगरेको बताउँछन ।

ककनी ३ का स्थानीय समेत रहेका प्रगितिशिल युवा क्लवका अध्यक्ष दिपेश ढुंगाना जनप्रतिनिधि र ठेकेदार मिलेर आयोजनाको नाममा ढुंगा गिटी तस्करीमा लग्ने तर बाटोको काम चाहिँ नगर्ने अवस्थामा रहेको बताउँछन । उनले चन्द्रसूर्य कन्स्ट्रक्सनले १ हजार भन्दा बढी टिप ढुंगा काठमाडौँ निकासी गरेको बताए । ढुंगानाले त्यसमा स्थानीय तहका जनप्रतिनिधिको पनि संलग्नता रहेको बताए ।

चन्द्रसूर्य कन्स्ट्रक्सन सञ्चालक जनार्दन ढकाल आफूले काम गर्न राज्यबाट पाएको समय बाँकी नै रहेकाले बाँकी समयमा काम सम्पन्न गरेर राज्यको जिम्मा लगाउने बताउँछन । उनले कोरोना लगायतको समस्याका कारण सडक बन्न कठिन भएको बताउँछन । ढकालले दैनिकीसँग भने, ‘भूकम्प, नाकाबन्दी, स्थानीय चुनाव, संघीय चुनाव, केन्द्रबाट प्रदेशमा योजना हस्तान्तरण गर्दा डेढ बर्ष सरकारले नै काम रोक्न पत्र दिएको, स्थानीय मुआब्जाको विवाद, निर्माण सामग्री, ढुङ्गा, ग्राबेल निकाल्न रोकावट र अहिले मुख्य काम गर्ने समयमा कोरोना र लकडाउनलले काम गर्न पाइएन अनि कसरी देखिन्छ परिणाम ?’

नेकपा एमाले नुवाकोटका सचिव एवं ककनी गाउँपालिकाका स्थानीय काशिराज अधिकारीले लामो समयसम्म सडक नबन्नुको कारण खोज्दै त्यसलाइ समयमै निर्माण गराउन आफूहरू लागि परेको बताए । उनले जनताको गुनासो सम्बोधनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन आफू तत्पर रहेको बताए ।

उता स्थानीयहरू भने ढकालले ठेक्का लिएर समयमै काम नगरदिँदा र राजनीतिक दलका नेताहरूले गम्भीर ढंगले नसोच्दा बैकल्पिक राजमार्गको रूपमा परिकल्पना सडक कृषिमा झरेको बताउँछन । यता पूर्वाधार कार्यालय नुवाकोटका निमित्त प्रमुख ओमकुमार साह यो भदौमा ठेक्काको सम्झौता सकिने भए पनि ढकालका लागि थप ६ महिना समय थपिने बताउँछन । उनले कोरानाका कारण यस्तो सहुलिय दिन लागिएको र थपिएको ६ महिनामा ढकालले कम्तिमा १० किलोमिटर बाटो कालोपत्रे गर्ने बताउँछन ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलवार १४:०१

https://srdb.com.np/