युथ फोर्सले प्रचण्डले जस्तो हत्या हिंसा र मान्छेलाई दुःख दिने काम गर्दैनः पूर्वमन्त्री बस्नेत
२ साउन, काठमाडाैँ । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले युथ फोर्सका सदस्यहरूका लागि तालिमको सुरुवात गर्नुभएको छ । भक्तपुरको सूर्यविनायकस्थित प्रस्तावित राष्ट्रिय प्राणी उद्यान केन्द्रमा आज आयोजित एक कार्यक्रमकाबीच बस्नेतले केही दिनअघि ब्यूँताइएको युथ फोर्सका सदस्यहरुका लागि तालिमको सुरुवात गर्नुभएको हो ।
प्रशिक्षण कार्यक्रममा बोल्दै नेता बस्नेतले आफूहरूले कानुनलाई हातमा नलिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी कानुनलाई हातमा लिँदैनौँ, साथमा लिन्छौँ । हिजो प्रचण्डले जस्तो हामी हत्या हिंसा गर्दैनौँ, मान्छेलाई दुःख दिँदैनौँ, निर्दोष व्यक्तिलाई दुःख दिँदैनौँ ।’
सम्बोधनका क्रममा नेता बस्नेतले युथ फोर्सको विचार, कार्यकर्ता र शुभचिन्तकमाथि कसैले प्रहार गरेमा प्रतिरोधमा उत्रिन पनि निर्देशन दिनुभयो । उहाँले युथ फोर्समाथि अनेक आरोप लाग्न सक्ने बताउनुहुँदै सजग भएर अघि बढ्न पनि आग्रह गर्नुभयो ।
सर्वोच्च अदालतको असार २८ को परमादेश अनुसार सरकारबाट बाहिरिएसँगै एमालेले युथ फोर्स ब्यूँताएको हो । युथ फोर्सले राज्यका ज्याद्धती र जनताबिरुद्ध हुने कुनै पनि कामको प्रतिरोध गर्ने बताएको छ ।
प्रकाशित मिति : 22:53









