राहत वितरण गर्न नेकपा भक्तपुरद्वारा आह्वान
२९ असार,भक्तपुर । यही असार २७ गते रातिदेखि परेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परेका वस्तीका बासिन्दालाई सहयोग गर्न र राहत वितरण गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा), जिल्ला कमिटी भक्तपुरले आफ्ना कार्यकर्तालाई आह्वान गरेको छ ।
नेकपा भक्तपुरका अध्यक्ष बचन देउजाले आज विज्ञप्ति जारी गर्दै एकरात परेको अविरल वर्षाले भक्तपुरमा निम्त्याएको विनाशप्रति दुःख व्यक्त गर्दै कार्यकर्तालाई राहत संकलन गरी वितरण गर्न र अन्य आवश्यक सहयोग गर्न कार्यकर्तालाई आह्वान गर्नुभएको हो ।
उहाँले पहिरोमा परी ज्यान गुमाएका चाँगुनारायण नगरपालिका–७ वागेश्वरीको मझुवाका हीरा लामा, श्रीमती पानमाया लामा र साढे दुई वर्षकी नातिनी सम्पदाको मृत्युप्रति पार्टीले दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेको छ ।
यस्तै, जिल्लाका चारवटै नगरपालिकामा आएको पहिरो, बाढी र डुबानका कारण विस्थापित भएका करिब ५० परिवारलाई पुनःस्थापना गर्न, क्षतिको विवरण संकलन गरी राहत वितरण गर्न, आगामी दिनमा यस्ता विपत्ति नआउन् भनेर पूर्व तयारी गर्न, उद्धारका सबै सामग्री तयारी अवस्थामा राख्न पार्टीले तीनवटै तहका सरकारसँग माग गरेको छ ।
प्रकाशित मिति : July 13, 2018 at 8:18 pm







