१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

तेस्रो किस्ता लिने भूकम्प पीडितको संख्या दुई लाख नाघ्यो, सँढे चार लाखले लिए दोस्रो किस्ता

२८ असार, काठमाडाैँ । घर निर्माण अन्तिम चरणमा पु¥याएर तेस्रो किस्ता लिने भूकम्प प्रभावित लाभग्राहीको संख्या दुई लाख नाघेको छ । बिहीबार अपरान्हसम्मको तथ्यांकअनुसार घर निर्माण सम्पन्न गरी वा छानो छाउने तहसम्म पु¥याएका २ लाख ८ हजार ४३ लाभग्राहीले तेस्रो तथा अन्तिम किस्ता बुझेका छन् ।

यद्यपि, तेस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको संख्या २ लाख ३४ हजार ९ सय ४२ पुगिसकेको छ । उनीहरु निजी आवास अनुदानको तेस्रो किस्ता बापतको एक लाख रुपैयाँ लिनका लागि योग्य भइसकेका छन् ।

तेस्रो किस्ताका लागि निवेदन दिने लाभग्राहीको संख्या २ लाख ४६ हजार २ सय ८८ पुगेको छ । यो तथ्यांकबाट गत वर्षको हिउँदे मौसममा पुनर्निर्माण सुरु भएका अधिकांश घरहरुको निर्माण सम्पन्न भएको वा हुन लागेको देखिन्छ ।

जिल्लागत रुपमा दोलखामा सबैभन्दा धेरै ३३ हजार ५ सय ८२ ले तेस्रो किस्ता लिएका छन् सिन्धुपाल्चोकका ३० हजार ४ सय ४४, गारेखाका २९ हजार ८ सय ८० लाभग्राहीले तेस्रो किस्ता लिएका छन् ।

तेस्रो किस्ता लिने लाभग्राहीको संख्यासँगै निर्माण सम्पन्न भएका घरको संख्यामा उत्साहजनक बढोत्तरी भइरहेको छ । ५ लाख ९ हजार ४ सय १८ घर पुनर्निर्माणको चरणमा छन् जसमध्ये २ लाख ३९ हजार ९८ को निर्माण सम्पन्न भइसकेको छ ।

त्यसैगरी, दोस्रो किस्ता लिने लाभग्राहीको संख्या पनि उत्साहजनक ढंगले बृद्धि भएको छ ।  बुधबारसम्मको तथ्यांकअनुसार ४ लाख ४९ हजार ३ सय ३८ जना लाभग्राही दोस्रो किस्ता लिइसकेका छन् । भूकम्पप्रतिरोधी मापदण्डअनुसार डीपीसी तहसम्मको निर्माण गरेपछि लाभग्राहीले दोस्रो किस्ता पाउँछन् ।

पछिल्लोपटक गुनासो सम्बोधनपछि थपिएका समेत गरी कूल लाभग्राहीको संख्या ८ लाख ७ हजार ४ सय ८६ पुगेको छ जसमध्ये ७ लाख २१ हजार ७ सय ३६ सँग अनुदान सम्झौता भइसकेको छ ।

प्रकाशित मिति : २८ असार २०७५, बिहीबार २०:२२