१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

-त्रिलोचन ढकाल

मोटरसाइकलको पछाडिको सिटमा बसेको थिएँ । गाउँका भतिजाले हाँकेका थिए मोटरसाइकल । उनले उच्च गतिमा दौडाइरहेका थिए । त्यस्तै उच्च गतिमा घचक्क ब्रेक लगाउँथे ।

मोटरसाइकल त कुकुरमुन्टी खेल्ला जस्तो लाग्दथ्यो । मेरो तौल बढी नै भएको हुनाले बँचेको होला जस्तो लागेको थियो । मोड नभएका ठाउँमा पनि मोडिने गरेको थियो मोटरसाइकल । नागबेली आकारमा । कैयौंपटक खसेँ खसेँ जस्तो पनि भयो । सहनै नसकेपछि भने_

“अलि सुस्त चलाउ न ! म डराएँ ।”

“मेरा छोराले कति ढिलो चलाएको हो भन्छ । म त यस्तै हुम् अङ्कल !” उनले भने ।

गति उच्च मात्र होइन हाँकाइ भद्दा पनि थियो । भद्दा चलाउने बानि बसेपछि सुधार्न गाह्रो हुन्छ । यो पक्षमा चालक होसियार हुनु पर्छ । मेरो भनाइ बुझेपछि उनले भने_

“मैले मोटरसाइकल हाँक्न थालेको बिस वर्ष भयो । जागिर खाँदा पनि चलाएको हुम् । पत्नी र छोराछोरी समेत चार जनाको सवारी पनि चलाएको छु । उकालो अोरालो कच्ची पक्की जहाँ पनि दौडाएको छु । ढुक्क हुनुहो्स् । केही नराम्रो हुँदैन ।”

मलाई भने उत्रने ठाउँ कति बेला आउला जस्तो भएको थियो । मेरो मनस्थिति बुझेछ क्यारे ठाउँ आइहाल्यो । खुट्टा कामेका थिए । मन पनि तुलबुलाएको थियो । सास पनि बढेको थियो । मोटरसाइकलबाट उत्रेर थुचुक्क बसेँ प्याराफिटमाथि ।

ऊ गयो । उस्तै उच्च गति । उस्तै घचक्क घचक्क । उस्तै नागबेली । मैले चिच्याएर भनेँ_
“राम्ररी जाऊ है !”
“चिन्ता नलिनुहोस् अंकल”

उनले विदाइका हात हल्लाए, टाढाबाट ।

म उठेर बासस्थानमा पुगेको मात्र थिएँ । फोन रोइरहेको सुनियो । उनकी पत्नीको रहेछ । उठाएँ । मैले हेलो भन्न नपाउँदै उनले भनिन्_

“उहाँको मोटरसाइकल एक्सिडेन्ट भएछ । बेहोस हुनु हुन्छ । हामी न्युरो अस्पतालतिर जाँदैछौँ ।”

आनन्दआश्रम, स्याङ्जा
०७८.३.१०

प्रकाशित मिति : १२ असार २०७८, शनिबार ०७:५२