१२ जेष्ठ २०८१, शनिबार | Sat May 25 2024

कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले यसै वर्षदेखि निःशुल्क पाठ्यपुस्तक पाउने


१० असार, काठमाडौँ । सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले यस पटकबाट निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने भएका छन् । सरकारले घोषणा गरेको कार्यक्रमअनुसार विद्यार्थीले २०७८ सालको शैक्षिक सत्रबाट सबै विषयको पाठ्यपुस्तक निःशुल्क प्राप्त गर्ने भएको आजको गोरखापत्र दैनिकले समाचार लेखेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक घनश्याम अर्यालले दुवै कक्षामा अध्ययन गर्ने विद्यार्र्थीले छवटै विषयको पाठ्यपुस्तक निःशुल्क प्राप्त गर्ने जानकारी दिनुभयो । कक्षा ११ र १२ मा विद्यार्थीले तीनवटा अनिवार्य र तीनवटा ऐच्छिक गरी छवटा विषय अध्ययन गर्छन् ।

केन्द्रका निर्देशक अर्यालले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन स्थानीय तहमा बजेट पठाइसकिएको जानकारी दिनुभयो । अब स्थानीय तहले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी सङ्ख्याका आधारमा रकम निकासा गरेपछि विद्यालयले विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउनेछन् । सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेको थियो ।

सरकारी पाठ्यपुस्तक प्रकाशन गर्ने जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले अङ्ग्रेजी, नेपाली, सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षारगणित गरी तीनवटा अनिवार्य विषयको पाठ्यपुस्तक प्रकाशन गर्ने गरेको छ । ऐच्छिक विषयको पाठ्यपुस्तक भने पाठ्यक्रम विकास केन्द्रको अनुमति लिएर निजी प्रकाशनहरूले निकाल्ने गरेका छन् ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार ०७:५३