२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

जनशक्ति र उपकरणको अभाव अन्त्य गर्दै त्रिशुली अस्पताललाई नमूना बनाउछाैँः मन्त्री पाण्डे

४ असार, नुवाकोट । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डेले त्रिशुली अस्पताललाई नमूना अस्पतालको रूपमा विकास गरिने बताउनुभएको छ । पछिल्लो तीन वर्षमा देशको उत्कृष्ट अस्पताल बनेको त्रिशुली अस्पतालई प्रदेश सरकारले नमूना बनाउने योजना बनाएको मन्त्री पाण्डेले बताउनुभयो ।

बिहीबार जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटको प्रांगणमा भएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा मन्त्री पाण्डेले पाण्डेले त्रिशुली अस्पताललाई प्रदेश सरकारले उच्च प्राथमितामा राखेको जानकारी गराउनुभयो । हाल ५० शय्या रहेको अस्पताललाई यस अघिनै १ सय शय्या बनाउने निर्णय भएकाले त्यसको कार्यान्वयनको लागि बजेट व्यवस्था भएको मन्त्री पाण्डेले बताउनुभयो ।

मन्त्री पाण्डेले कोरोना संक्रमणको उपचार तथा रोकथाममा त्रिशुली अस्पताल बागमती प्रदेशमै नमुनाको रूपमा रहेको पनि बताउनुभयो । ५० शय्या भए पनि कोभिडका कारण १ सय ३० शय्या सञ्चालनमा रहेको अस्पतालमा जनशक्ति र उपकरणको व्यवस्थापनमा प्रदेश सरकारले तीव्र गतिमा काम गरिरहेको उहाँले बताउनुभयो ।

सोही कार्यक्रममा नेकपा एमाले नुवाकोटका अध्यक्ष एवं बागमती प्रदेससभा सदस्य बद्री मैनालीले आफूहरू नुवाकोटका नागरिकलाई जिल्लामै सबै किसिमका स्वास्थ्य सेवा उपलब्ध गराउने अभियानमा केन्द्रीत भएको जानकारी दिनुभयो । उहाँले कुनै पनि नागरिक उपचारकै लागि काठमाडौँ या अन्य स्थानमा धाउनु नपरोस भनेर त्रिशुली अस्पतालको विकास भैरहेको बताउनुभयो ।

उहाँले विगतमा कांग्रेस र माओवादीले वेवास्ता गरेको अस्पताल एमाले नेतृत्वको सरकारको पहलकमदीले सेवा प्रवाहको हिसावमा काठमाडौँको सुविधासम्पन्न अस्पतालको हैसियतामा पुगेको दाबी गर्नुभयो । उहाँले जिल्लाका सबै पालिकामा समेत कम्तिमा १० शय्याको अस्पताल निर्माण गर्ने अभियान अन्तर्गत पाँच वटा पालिकामा काम भैरहेको र अन्य पालिकामा पनि चाँडै नै काम सुरू हुने जानकारी दिनुभयो ।

प्रदेश सरकारले नुवाकोटको १२ वटै स्थानीय तह र जिल्ला अस्पताल त्रिशुलीलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । सो सामग्री मन्त्री पाण्डे एमाले अध्यक्ष मैनाली लगयातले सम्पबन्धित पालिकाको प्रतिनिधिलाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा एमाले नुवाकोटका संस्थापक रामशरण प्याकुरेल, सचिव काशिराज अधिकारी, पूर्व उपाध्यक्ष बिन्दा ढुंगाना, प्रदेश सभा सदस्य आशा माया लामा, एमालेका युवा नेताहरू बलराम आचार्य, गणेश श्रेष्ठ, नारायण घिमिरे लगायत सहभागी हुनुहुन्थ्यो ।

प्रकाशित मिति : June 18, 2021 at 8:35 am