२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

वृद्धभत्ता चोरी प्रकरणः नुवाकोट पञ्चकन्याका अध्यक्षमाथि कारवाही गर्न माग

२९ जेठ, काठमाडाैँ । प्रकाशित समाचारका विषयलाई लिएर नुवाकोट जिल्लास्थित पञ्चकन्या गाउँकालिकाका अध्यक्ष तेजबहादुर तामाङले समाचार प्रकाशन प्रसारण गर्ने सञ्चारमाध्यम र पत्रकारलाई धम्की दिएको भनी अनलाइन पत्रकार संघले विरोध गरेको छ ।

यही जेठ २६ गते पालिकाखबर डटकम र दैनिकी डटकममा सो गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्न बैंकबाट झिकेर ल्याएको रु ५० लाख र वडा नं २ सँग रहेको रु तीन लाख पञ्चकन्या –२ बाट हराएको सम्बन्धी समाचार प्रकाशन प्रसारण भएको थियो ।

रकम चोरी भएका सन्दर्भमा सम्बन्धित पालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसँग ती सञ्चारमाध्यमले आवश्यक कुरा गरी उहाँहरुको भनाइ पनि समावेश गरेको जनाइएको छ । सो रकम हराएका सन्दर्भमा गाउँपालिकाले प्रहरी प्रशासनलाई खोजी गर्न आग्रह गर्दै पत्राचार गरेको र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि चासो देखाएकामा समाचार प्रकाशन प्रसारण गरेकै कारण गाउँपालिका अध्यक्ष तामाङले सञ्चारमाध्यम र पत्रकारलाई धम्की दिएको सङ्घले जनाएको छ ।

प्रकाशित समाचारका विषयमा चित्त नबुझे वा गुनासो रहे न्यायिक निरुपण गर्ने प्रक्रियागत तथा कानूनी उपचार हुँदाहुँदै ‘जुनसुकै तबरले उपचार खोज्ने’ अध्यक्ष तामाङको भनाइले प्रेस स्वतन्त्रता, विधिको शासन तथा कानूनी राजमाथि नाङ्गो हस्तक्षेप हुने र समाचार लेखेकै आधारमा पत्रकारमाथि भौतिक आक्रमण हुनेसम्मको खतरा देखिएकाले अध्यक्ष तामाङमाथि कारवाही गर्न, स्वतन्त्र पत्रकारिता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, विधिको शासन स्थापित गर्न तथा पत्रकारको भौतिक सुरक्षाप्रति संवेदनशील रहन सङ्घका अध्यक्ष शिवप्रसाद सत्यालले संघीय सरकारसमक्ष माग गर्नुभएको छ ।

प्रकाशित मिति : June 12, 2021 at 11:01 pm