महिलाहरुलाई आत्मनिर्भर बनाउन बुटिक तालिम
२४ असार, चितवन । चितवनको कालिका नगरपालिका वडा नं. ७ सगुनटोल स्थित उदयपुर सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ताहरुलाई आइतबार सिलाइ मेशिन वितरण गरिएको छ भने ३ महिने बुटिक तालिम पनि समापन गरिएको छ ।
जिल्ला वन पैदावार आपूर्ति समिति चितवनको सहयोगमा समूहका विपन्न १६ जना उपभोक्ताहरुलाई सिलाइ मेशिन प्रदान गरिएको हो । त्यस्तैगरी वरण्डाभार संरक्षित वन परिषद चितवनको सहयोगमा ३ महिनासम्म संचालित बुटिक एवम् कडाई तालिमको पनि समापन गरिएको छ । वन समूहका २४ जना उपभोक्ताहरुको सो तालिममा सहभागिता रहेको थियो ।
सिलाइ मेशिन वितरण तथा बुटिक तालिम समापन कार्यक्रमका प्रमुख अतिथि जिल्ला वन कार्यालय चितवनका प्रमुख केदारनाथ पौडेल, विशिष्ट अतिथि वरण्डाभार संरक्षित वन परिषदका अध्यक्ष सरोज गुरुङ्ग, कालिका वडा नं. ७ का वडाअध्यक्ष डिल्ली प्रसाद दवाडी, समूहका सल्लाहकार राम बहादुर लामा, समूहका सदस्य गीता दाहाल, तालिममा सहभागीको तर्फबाट तारा सापकोटा, वन समूहकी सचिव विष्णु पोख्रेल लगायतले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए । समूहका उपाध्यक्ष सुदर्शन अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम समूहका अध्यक्ष केशव लामाको अध्यक्षतामा भएको थियो ।
प्रकाशित मिति : २५ असार २०७५, सोमबार १७:१४