बजेटमा परेका योजनाहरु समयमै सम्पन्न गर्न प्रकिया शुरु भइसकेको छः यातायातमन्त्री नेम्बाङ
१९ जेठ, काडमाडाैँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेट कार्यान्वयनका लागि मन्त्रालयले कार्ययोजना बनाउने काम शुरु गरेको बताउनु भएको छ । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री नेम्बाङले आगामी आर्थिक वर्षको बजेटमा भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा विशेष प्राथमिकता दिएको उल्लेख गर्दै बजेटमा परेका योजनाहरु समयमै सम्पन्न गर्नका लागि आवश्यक प्रक्रिया अहिलेदेखि नै शुरु भइसकेको बताउनुभयो । बजेटले राष्ट्रिय महत्वका र राष्ट्रिय गौरवका महत्वपूर्ण आयोजनाहरुलाई समेटेको भन्दै उहाँले तिनको समयमै सम्पन्न गर्नका लागि कार्यान्वयनका लागि कार्यतालिका बनाएर अर्थ मन्त्रालयमा पेश गरिसकेको पनि जानकारी दिनुभयो ।
कतिपय आयोजनाहरुमा बजेट कार्यान्वयन गर्न नीतिगत अस्पष्टता हुँदा काममा ढिलाई हुने गरेकाले अहिले देखि नै ति नीतिगत अस्पष्टतालाई समाधान गर्नका लागि मन्त्रालयस्तरमा कार्ययोजना बनाउन शुरु गरीसकेको पनि उहाँले बताउनुभयो । त्यस्तै ठुला आयोजनाको खरिद प्रक्रिया ढिलो हुँदा निर्माणका काममा ढिलाइ हुने गरेकाले आगामी आर्थिक वर्षबाट शुरु हुने विकास निर्माणका कामका लागि भने चालु आर्थिक वर्षको बाँकी समयबाट नै तयारी शुरु गर्न निर्देशन दिइएको मन्त्री नेम्बाङले बताउनुभयो ।
बजेट कार्यान्वयनका लागि कार्यान्वयन गर्ने निकायको क्षमतामा भरपर्ने उल्लेख गर्दै उहाँले भौतिक पूर्वाधार मन्त्रालय अन्र्तगत नै आवश्यक कार्यालय र जनशक्तिको अभाव भएकाले त्यसको व्यवस्थापनपनि आगामी आ.व.को बजेटबाट व्यवस्था गरिएको बताउनुभयो । यसले बजेट कार्यान्वयनका लागि प्रभावकारी काम गर्न सहयोग पु¥याउने उहाँको भनाई छ । आगामी आर्थिक वर्षको बजेटले पूर्व–पश्चिम राजमार्ग, उत्तर–दक्षिण करिडोर, रेल, मेट्रो रेल, सुरुङ मार्ग, फ्लाइ ओभर लगायतका महत्वपूर्ण आयोजनाहरुलाई प्राथमिकता दिएको उहाँले बताउनुभयो ।
पूर्व –पश्चिम राजमार्ग, पुष्पलाल राजमार्ग, मदन भण्डारी राजमार्ग, हुलाकी राजमार्गमा निमार्ण तथा स्तरोन्नतिका लागि आवश्यक बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । त्यस्तै प्रदेश राजधानी जोड्ने राजमार्गका लागि पनि बजेट विनियोजन गरिएको उहाँले स्पष्ट पार्नुभयो । संघीय राजधानीको आवागमनलाई व्यवस्थापन गर्नका लागि पनि बजेट विनियोजन गरीएको मन्त्री नेम्बाङले बताउनुभयो । चक्रपथ निर्माण, नागढुंगा सुरुङमार्ग निर्माणको लागि पनि बजेट विनियोजन गरिएको उहाँले उल्लेख गर्नुभयो । तराईका १८ जिल्ला जोडिएको र छिमेकी मुलुक भारतसम्म जोडिने औद्योगिक करिडोरका लागि पनि सरकारले प्राथमिकताकासाथ बजेट विनियोजन गरेको उहाँले उल्लेख गर्नुभयो ।
नागढुंगा बाहेकका अन्य तिनवटा सुरुङमार्ग निर्माणका लागि पनि बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । चीनको बोर्डरसम्म जोड्ने विभिन्न आयोजनाका लागि पनि बजेट विनियोजन गरीएको उहाँले बताउनुभयो ।
मन्त्री नेम्वाङले ७२ वटा वैकल्पिक राजमार्ग बनाउनको निम्ति बजेटको व्यवस्था गरिएको पनि उल्लेख गर्नुभयो । जनकपुर जयनगर रेल सञ्चालनका लागि आवश्यक बजेट तथा कर्मचारीको व्यवस्थापन भइसकेको भन्दै उहाँले लकडाउनको अन्त्य भएसँगै रेल सञ्चालनमा आउने बताउनुभयो । आगामी आ.व.मा १०० वटा विद्युतिय बस थप गरिने पनि उहाँले जानकारी दिनुभयो ।
प्रकाशित मिति : 17:54









