संवैधानिक इजलासः पुरानै न्यायाधीशलाई निरन्तरता
१८ जेठ, काठमाडाैँ । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनसम्बन्धी रिटको सुनुवाइका लागि पुरानै संवैधानिक इजलासलाई निरन्तरता दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वमा रहेको यसअघिकै संवैधानिक इजलासमा आज पनि रिटको सुनुवाइ हुने गरी पेशी तोकिएको छ ।
इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासँगै न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ सदस्य हुनुहुन्छ । न्यायाधीशहरु बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई इजलासमा राखिएकोमा रिट निवेदकका पक्षका कानुन व्यवसायीले विरोध जनाउँदै आएका छन् । आइतवारको सुनुवाइमा प्रधानन्यायाधीश जबराले यसबारे न्यायाधीश केसी र श्रेष्ठले नै निर्णय गर्ने बताउनुभएको थियो ।
आज पनि संवैधानिक इजलासमा दुई न्यायाधीश केसी र श्रेष्ठका विषयमा प्रश्न उठे सरकारी वकिलले संवैधानिक इजलासको रोस्टरमा रहेका नौ न्यायाधीशमाथि पनि प्रश्न उठाउने तयारी गरेका छन् ।

प्रकाशित मिति : June 1, 2021 at 10:59 am









