५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

एसईई परीक्षा आन्तरिक मूल्यांकन विधिबाट गराउन शिक्षा मन्त्रालयको प्रस्ताव


१७ जेठ, काठमाडौँ । यस बर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा नहुने भएको छ । शिक्षा मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको छ । साेमबार बसेकाे मन्त्रालयको बैठकले गएकाे वर्षजस्तै आन्तरिक मूल्याङ्कन विधिअनुसार एसईई सम्पन्न गराउने प्रस्ताव पठाउने निर्णय गरेको हाे ।

गत वर्ष विद्यालयको प्रधानाध्यापक, कक्षा शिक्षक र अनुभवी शिक्षक गरी तीन सदस्यीय मूल्यांकन समिति गठन गरी पहिलो त्रैमासिक अवधिको मूल्यांकन १० प्रतिशत, दोस्रो त्रैमासिक अवधिको मूल्यांकन ३० प्रतिशत र शैक्षिक सत्रको अन्त्यसम्ममा निर्धारित सबै विषयवस्तु मूल्यांकन भएको थियो ।

मूल्याङ्कन समितिले राष्ट्रिय परीक्षा बोर्डले तोकेअनुसार विद्यार्थीको प्राप्ताङ्क शिक्षा विकास तथा समन्वय इकाइमा बुझाएपछि सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइहरूले विवरण राष्ट्रिय परीक्षा बोर्डमा पठाइ बोर्डले नतिजा सार्वजनिक गरेको थियो । यस वर्ष पनि कोरोना महामारीका कारण परीक्षा सञ्चालन गर्न नसकिने अवस्था भएकाले मन्त्रालयले गएकाे वर्षकै विधि अपनाउने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार १६:५५