२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

कम्युनिस्ट राजनीतिको उर्बर भूमि जिलिङ्ग र हामी


-ठाकुर पुडासैनी 

जिलिङ्ग गाउँ कुनै समय कम्युनिष्ट राजनितिको उर्बरा भूमिको रुपमा चिनिएको थियो । खासगरी माले हुुँदै एमालेको शसक्त र जुझारु संगठन भएको यस गाउँमा एमाले कै नेतृत्व तहबाट विद्रोही भएर माओवादी संगठन समेत स्थापित गरिएको थियो ।

यस लेखमा मेरो स्मरणमा रहेसम्म जिलिङ्गमा वाम राजनीति कसरी झाँगिन पुग्यो भन्ने विषयमा चर्चा गर्न चाहन्छु । कतै कुनै प्रसंग छुट्न गएमा थपघट वा सुधार गरिदिनु हुन अग्रज र सम्वन्धितहरुलाई अनुरोध गर्दछु। जिलिङ्गको राजनीति अध्ययन गर्न चाहनेहरू सबैलाई यस लेखले केही हदसम्म सहयोग पुग्नेछ भन्ने अपेक्षा पनि गर्दछु।

२०३६ सालको जनमत संग्रहको बेलामा को-को बहुदलवादी नेताहरू आएर भाषण गरे रे ! पञ्चायत र राजाको ठाडै विरोध गरे रे ! भन्ने चर्चा गाउँका मान्छेहरू जम्मा भएर गर्ने गर्थे । म भर्खर १० वर्ष उमेरको थिएँ । राजनीति भनेको के हो थाहै थिएन । तैपनि पुरानो भन्दा केही नयाँ भए हुन्थ्यो भन्ने चाहिँ लाग्ने गर्थ्यो । चुनाव भयो । पँहेलो रंगले जित्यो, राजाले जिते, काङ्रेसले हार्यो भन्थे । गाउँमा पञ्चायतको राजनीति गर्ने ठूला बा हुनुहुन्थ्यो । उहाँले जे भन्यो हाम्रा गाउँका सबैले त्यही मान्थे ।

बहुदलपछि हामीमा नजानिदो तवरले राजनैतिक चेतना पलाएछ कि के हो । मेरा अग्रज दाजुहरु होम, केशव र नन्द पढ्न भनेर त्रिशुली स्कुल भर्ना हुनुभयो । म भन्दा २ व्याच मात्र अघिका भरत दाइ भने देवीघाट स्कुल नै पढ्नुभयो पछि ९ कक्षा पढ्न उहाँ पनि त्रिशुली नै जानुभयो।

गाउँमा प्रधानपञ्च ठूला बाका छोरा द्रोण बहादुर दाइ हुनुहुन्थ्यो । साह्रै नम्र र ज्ञानी स्वभावका । ठूला बाले कतै यसो ठगठाग गर्नुभो भने पनि विरोध गर्ने । गरिबलाई ठग्न हुन्न भन्ने । उहाँले नै हामीमा राजनैतिक चेतना भराएको हुनुपर्छ भन्ने लाग्छ। उहाँ निकै वैज्ञानिक र आधुनिक कुरा गर्नुहुन्थ्यो ।

हाम्रो नजिकै रहेको कुसुम खोलाबाट बिजुली निकाल्ने कुरा गर्नुहुन्थ्यो जब कि हामीले त्यसबेलासम्म बिजुली देखेकै थिएनौँ । स्वर्ग-नर्क नहुने, मरेपछि काज किरिया गर्नु नपर्ने जस्ता कुरा शायद हामीले उहाँबाट नै सुनेका हौँ । त्यतीमात्र होइन चीनमा माओत्से तुङले जस्तै नेपालमा पनि क्रान्ती गर्नुपर्ने कुरा गर्नुहुन्थ्यो । उती बेला उहाँको कुरा त्यति बुझएको थिएन । अहिले बुझ्दा कति दुर्दर्शी हुनुहुँदो रहेछ भन्ने लाग्छ ।

हामीले स्कुल पढ्दा सधैँ शिक्षकको अभाव भइरहन्थ्यो । भरत दाइ कक्षाको प्रथम विद्यार्थी हुनुहुन्थ्यो । उहाँले हामीलाई पढाउने शिक्षकको व्यवस्था मिलाउनु पर्यो भन्दा हेड सरले के-के भन्नु भएछ ! उहाँले नारा जुलुस निकाल्ने भन्नुभो । सबै विध्यार्थीहरू एकजुट भएर देवीघाट बजारसम्म नारासहित जुलुश गरियो। सम्भवतः यही नै हाम्रो जुलुसमा पहिलो सहभागिता थियो। पछि पूर्वतिरका शिक्षकहरू आएर ठूला बाका घरमा आएर बस्न थाले। उनीहरुले जनताका दुःखका गीत गाउँथे । सामन्ती शासन ढालेर जनताको शासन ल्याउने कुरा गर्थे, हामी त्यसै पुलकित हुन्थ्यौँ ।

२०३८ सालमा राष्ट्रिय पञ्चायतको चुनाव हुने कुरो चल्यो । शायद विष्णु नेपाल दाइ बनारसबाट पढाई सकेर गाउँ आउनु भएको थियो । हाम्रो भेगमा नै सबैभन्दा धेरै पढेको हुनाले उहाँलाई हामी आदरका साथ ब्यबहार गर्थ्याैँ उहाँ पनि बडो हक्की स्वभावको हुनुहुन्थ्यो । पञ्चहरूलाई तर्क र तथ्यले बोल्नै नसक्ने बनाइदिनु हुन्थ्यो । विष्णु दाइ, होम दाइ, भरत दाइ आदि हाम्रा अगुवाहरुले जितसिंह खड्का रुढीवादी भएको र प्रकाशचन्द्र लोहनी रसियामा पढेको हुनाले र धेरै विद्वान भएकोले उसलाई जिताउनु पर्छ भनी प्रकाशचन्द्र लोहनीलाई भोट मागेर पर्चा पम्प्लेट गर्दै हिंडियो।

विद्यालयमा अनेरास्ववियु एकताको पाँचौं भर्खर संगठन विस्तारमा आउन थालेको थियो । केही शिक्षकहरू पनि कलेज पढ्दा पढ्दै संगठन निर्माणको शिलशिलामा हाम्रो स्कुलमा आउनुभएको रहेछ । उहाँहररूले हामीलाई केही क्रान्ती र परिवतर्नको चेतनाले भरिएका पुस्तकहरु दिनुहुन्थ्यो । ती पुस्तकहरू पढ्दा तत्कालीन ब्यवस्थाप्रति तीब्र घृणा जाग्थ्यो। भेला, प्रशिक्षणको शिलशिलामा गेर्खुटारमा कमरेड रामशरण प्याकुरेलकोमा बास बसियो र त्यही बासमा पहिलो पटक क्रान्तिकारी चेतनाले भरिएका गिती चक्का क्यासेट मार्फत सुनियो।

अग्रज दाजुहरुले पञ्चायत र पच्चसॅग लुकेर हैन खुलेर नै प्रतिवाद गर्न योजना बनाउनुहुन्थ्यो हामी त्यसमा साथ दिन्थ्यौं । शायद २०४० साल तिर हुनु पर्छ, देवीघाटको पुल मर्मतका लागि आएको बजेटले २\४ वटा फट्टा फेरेर बाँकी रकम आफ्नै खल्तीमा राखेछन् । त्यो कुरा थाहा भएपछि भरत पुडासैनी दाइको नेतृत्वमा विद्यार्थीहरूको जुलुस लगेर उक्त फट्टाहरु फ्याकेर कोण सभा गरियो । पञ्च कै भतिजो भएकोले मात्र वहालाई पक्राउ नगरिएको भन्ने चर्चा गरिन्थ्यो। कामका लागि खाध्यान्न भनेर ल्याएका गहुँ पनि पञ्चहरुको घरबाट निकालेर जनतालाई बाँड्ने काम गरियो ।

होम, केशव, नन्द र भरत दाइहरू शिक्षक पेशामा संलग्न भईसक्नु भएको थियो। नारायण खतिवडा शिक्षक संगठनको नेता हुनुहुन्थ्यो। विदुरमा मिटिङ सकेर बास बस्नका लागि जिलिङ आउनु हुन्थ्यो । होम दाइको घर पछाडी एउटा गोठ थियो । तल गाई वस्तु बाँध्ने माथि दाइको कोठा थियो । अलग्गै कोठा र ट्वाइलेट भएको घर शायद उहाँको मात्र थियो हाम्रो गाउँमा । त्यसैले पाहुनाका लागि अली सजिलो थियो । दाजुहरू मात्र बसेर के-के कुरा गर्नु हुन्थ्यो जानु हुन्थ्यो । हामी छउन्जेल खास कुरा केही हुन्नथ्यो । पछि भएपछि यम खतिवडा सर, भरत ढुङ्गाना सर र मलाई पनि उहाँहरूको मिटिङमा बस्ने अनुमति दिइयो।

जिल्लामा कृष्णदास श्रेष्ठ, नारायण खतिवडा र रामशरण प्याकुरेल सहितको जिल्ला कमिटी निर्माण भएको कुरा थाहा पाइयो। शायद होम दाइ जिलिङको गाउँ कमिटीको सचिव हुनुभयो । भरत दाइ केशव दाइ र नन्द दाइसहितको ४ सदस्यीय गाउँ कमिटी गठन गरियो । भरत ढुङ्गाना, यम खतिवडा र म पार्टी स्टडी ग्रुप (PSG) मा बसेर काम गर्यौ । जिलिङमा पार्टी संगठन कसरी विस्तार गर्ने, प्रतिगामी सत्ताको दुषित छाँयाबाट यसलाई कसरी जोगाउने, पञ्चायती व्यवस्थालाई कसरी कमजोर बनाउने भन्ने विषयमा रातभर सरसल्लाह हुन्थ्यो। पार्टीले लिने कार्यदिशा र रणनीतीका अपानिलाई कडाईका साथ पालना गर्ने प्रतिज्ञा गर्दथ्यौं । पछि भरत पुडासैनीलाई विदुर नगर कमिटीको संयोजकको जिम्मेवारी प्रदान गर्यो।

यसै प्रसंगमा एउटा रमाइलो घटना याद आउँछ। रामहरी भट्ट देवीघाट बजारमा चिया गफ हुँदा हाम्रा कुराहरु औधी चाख मानेर सुन्नुहुन्थ्यो। हामीसँग निकट भएर कुरा गर्नुहुन्थ्यो। हाम्रा घर मै आउजाउ गर्न थाल्नुभयो । तर हामीले उहाँलाई हाम्रा कमिटीका कुराहरू खुलाउँदैनथ्यौं। एकदिन हाम्रो कमिटीको मिटिङमा गोपाल शाक्य आउने तय भएको थियो । रामहरी भट्ट पनि म यहीँ बस्ने भन्ने जिद्दी गर्न लाग्नुभयो । त्यसपछि हामीले यम सरलाई भनेर भट्ट जीलाई यम सरको घरमा सुताउने र उहाँ निदाएपछि यम सर मिटिङमा आउने गरी कुरा मिलायौँ । भोली पल्ट रामहरी जीले त्यो कुरा चाल पाउनु भएछ।

हामीले पार्टीको गोपनीयताको कारणले यसो गरेको भनेर सम्झायौँ । त्यस पछि यो मान्छेबाट हाम्रो गोपनीयता भंग हुदैन भनेर उहाँलाई PSG मा संगठित गर्यौ । साविक जिलिङको संगठन निर्माणमा उहाँको भूमिका अतुलनीय रहेको छ। तत्कालीन सत्तासँग उहाँले ठूलो विद्रोह गर्नुभएको छ । क्रमशः

(नेकपा एमालेका इमान्दार नेता पुडासैनी नुवाकोट आदर्श बहुमुखी क्यापसमा प्राध्यापन गर्नुहुन्छ । पुडासैनीले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको विचार हामीले यहाँ प्रकाशित गरेका हाैँ ।-सम्पादक)

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहीबार १९:२९