९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

लायन्स क्लबको इन्टरनेशनल डाइरेक्टरमा बालकृष्ण बुर्लाकोटीको उम्मेदवारी

१७ वैशाख, काठमाडाैँ । मानवीय सेवामा क्रियाशील अन्तराष्ट्रिय संस्था लायन्स क्लबको इन्टरनेशनल डाइरेक्टरमा बालकृष्ण बुर्लाकोटीले मनोनयन दर्ता गरेका छन् । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका पूर्व गभर्नर बुर्लाकोटीले आगामी जेठ २१ र २२ गते हुने मल्टिपल कन्भेन्सनकालागि इन्टरनेशनल डाइरेक्टरमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन् । बुर्लाकाेटी लायन्स क्लब मल्टिपल डिस्ट्रिक ३२५ नेपालका पूर्व चियरपर्सन समेत हुन्।

विश्वका २ सय भन्दा बढी देशमा सकृय लायन्स अन्तर्राष्ट्रियमा उनले आफ्नाे गभर्नर कालमा धेरै नयाँ रेकर्ड बनाउन सफल भएका थिए । लायन्सको सय वर्षको इतिहासमा पहिलो पटक एकै कार्यकालमा १०० वटा क्लब खोलेर विश्व रेकर्ड बनाएका थिए । २ हजार ८ सय ६३ मेम्बरसिप ग्रोथ तथा सय वटा एमजेएफ कन्ट्रिव्युसन गराउन उनी सफल भएका थिए ।

नेपाल लायन्स फाउण्डेसनमा १ करोड ३१ लाख ५० हजार रुपैयाँ रकम थप गराएका थिए । गभर्नर हुँदा होस् अथवा अन्य जिम्मेवारीमा रहँदा उनले लायन्समार्फत सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका छन् । लायन्स अन्तर्राष्ट्रियको सिकागो कन्भेन्सन, लस भेगस कन्भेन्सनमा आफ्नो महत्वपूर्ण प्रस्तुति राखिसकेका बुर्लाकोटीले इसामे एरिया फोरम कलकत्तामा पनि विषेश प्रस्तुत राख्न सफल भएका छन् ।

लायन्स क्लबहरुको तल्लो तह सम्म प्रत्यक्ष रुपमा घुलमिल भै काम गर्ने गरेकाले देशभरका लायन्स सदस्यहरुको मन र विश्वास जित्न सफल भएकाछन्। ‘ उहाँको सकृयताकाे कारण नेपाली लायन्सबादको विकास र विस्तार तिव्र रुपमा अगाडि बढी रहेको छ, नेपाललाई संसारभर चिनाउन उहाँको भूमिका महत्त्वपूर्ण रहेको लायन्स क्लब ईन्टरनेशनलका रिजन चियरपर्सन जे पी चापागाईंले बताउनुभयो।’ चापागाईंका अनुसार उहाँ लायन्सकाे अन्तर्राष्ट्रिय डाइरेक्टर बनेपछि विश्वभरि नेपालको राष्ट्रिय झण्डा र राष्ट्रिय गानलाई चिनाउन सफल हुनेछौं।

बुर्लाकाेटी अन्तर्राष्ट्रिय डाईरेक्टर भए पछि
नेपालमा धेरै भन्दा धेरै स्थायी परियोजनाहरु आउने र सामाजिक तथा मानवीय सेवामा अझै बढी सकृय हुन प्राेत्साहन प्राप्त हुनेमा नेपाली लायन्सहरु ढुक्क रहेकाछन्। यस अगाडि नेपालबाट सञ्जय खेतान अन्तर्राष्ट्रिय डाइरेक्टर बनेका थिए । खेतानलाई लायन्सको अन्तर्राष्ट्रिय अध्यक्ष बनाउने अभियानमा समेत बुर्लाकोटी सकृय रहेकाछन्।

प्रकाशित मिति : April 30, 2021 at 8:07 pm