१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सुरुङमा खस्यो पानी

१६ वैशाख, काठमाडाैँ । राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सूरुङमा पानी खसाल्ने कामको शुभारम्भ गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेबाङ र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता पार्वत गुरुङले आज संयुक्त रुपमा पानी पठाउने कार्यको शुभारम्भ गर्नुभएको हो । दोलखाको लामावगरमा रहेको ४५६ मेघावाट विद्युत् क्षेमताको आयोजना हालसम्मकै सवैभन्दा ठूलो लगानीको परियोजना पनि हो ।

भौतिक पूर्वाधार नेम्बाङ र सञ्चारमन्त्री गुरुङले संयुक्तरुपमा माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको जलाशय, बाँध, इन्टेक र अन्य संरचनाहरुको अवलोकनसमेत गर्नुभएको छ । त्यस्तै लामाबगरको गोंगरस्थित विद्युत गृहको पनि अवलोकन गर्नुभएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनभित्रै उक्त आयोजनाबाट उत्पादन हुने विद्युतको औपचारिक रुपमा उद्घाटन गर्नुहुने छ ।

सुरुङमा पानी खसाल्ने कार्यको शुभारम्भमा उर्जामन्त्री टोपबहादुर रायमाझीसमेत जाने कार्यक्रम रहेपनि कोरोना संक्रमणका कारण उहाँ अनुपस्थित हुनुभएको हो । त्यसैगरी मन्त्रीद्धयले चीन जोड्ने लामाबगर लप्ची सडकको सूरुङ मार्ग बनाउने स्थलको पनि निरीक्षण गर्नुभएको छ । देशको गौरव स्वदेशी लगानीको सबैभन्दा ठूलो र आधुनिक नेपालको महत्वपूर्ण आयोजनाबाट विद्युत उत्पादन गर्ने अवस्थामा पुग्नु आफैँमा सुखद भएको मन्त्री पार्वत गुरुङले बताउनु भयाे ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार १४:३१