मध्य भोटेकोशी जलविद्युत कम्पनीले वैशाख २१ गतेदेखि आईपीओ निष्कासन गर्ने
१३ वैशाख, काठमाडाैँ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले वैशाख २१ गतेदेखि आयोजना प्रभावित र सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका बासिन्दालाई साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा कम्पनीले प्रतिसेयर १०० अंकित दरका कुल ६० लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो। निष्काशन गरिने कुल कित्तामध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि छुट्याइएको छ भने बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्तामा सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुलाई छुट्याइएको छ ।
कम्पनीले गत वैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५० लाख कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो। जसमध्ये पहिलो चरण आयोजना प्रभावित क्षेत्रका बासिन्दाको निष्कासन गर्न लागेको हो । बाँकी ९० लाख कित्ता भने कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्नेछ। पहिलो चरणको आईपीओमा लगानीकर्ताले छिटोमा जेठ ४ गते ढिलोमा जेठ २० गतेसम्ममा न्यूनतम १० कित्तादेखि अधिकतम ४०० कित्ताका लागि आवेदन दिन पाउनेछन्। कम्पनी आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटल रहेको छ।
लगानीकर्ताहरुले आईपीओमा ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक, प्रभु बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, बैंक अफ काठमाण्डू र एनआईसी एसिया बैंकका सिन्धुपाल्चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यो कम्पनीलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।
प्रकाशित मिति : April 26, 2021 at 1:29 pm









