१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

ल्हासाबाट नेपालमा रेमिट्यान्स पठाउन बाटो खुल्यो, प्रति वर्ष ५० हजार डलर पठाउन मिल्ने

६ वैशाख, काठमाडाैँ । चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासाबाट नेपालमा रेमिट्यान्स पठाउन बाटो खुलेको छ । योसँगै पासपोर्ट देखाएरै प्रति वर्ष ५० हजार अमेरिकी डलर रेमिट्यान्स नेपाल पठाउन सकिने भएकाे छ ।  प्रति वर्ष ५० हजार अमेरिकी डलर रेमिट्यान्स कारोबार गर्न बैंक अफ चाइना सहमत भएको नेपाली महावाणिज्यदूत नवराज ढकालले जानकारी दिनुभयाे । यसअघि त्यहाँको रकम बैंकिङ कारोबार नभएकाले ल्हासाबाट हुन्डीमार्फत रकम आइरहेको थियो । जसका कारण कतिपय ठगिइरहेका थिए ।

महावाणिज्यदूतको कार्यालयको समन्वयमा ल्हासाबाट बैंकमार्फत नेपालमा रकम पठाउने सम्बन्धमा बैंक अफ चाइनाका उच्च पदाधिकारी र ल्हासामा रहेका व्यापारी, व्यवसायी र श्रमीकबीच भएको छलफलमा यस्तो सहमति भएको हो । छलफलमा बैंक अफ चाइनाका प्रतिनिधिले बैंकिङ च्यानलमार्फत रेमिट्यान्स कारोबार गर्न सहजिकरण गर्ने प्रतिबद्धता जनाएको ढकालले बताउनुभयो ।

गत वर्ष कात्तिक ७ मा नेपाल–चीनको तिब्बत व्यापार सहजीकरण समिति (एनटीटीएफसी)को नवौं बैठकमा दुई पक्षबीच १२ बुँदे सहमति भएको थियो। त्यसमा एकआपसमा वाणिज्य बैंकका शाखा खोल्ने उल्लेख छ। चिनियाँ पक्षले गरेको प्रस्तावमा सहमति जनाउँदै नेपालले चिनियाँ वाणिज्य बैंक खोल्न अनुमति दिन बताएको थियो। नेपाल पक्षले वैदेशिक बैंकलाई नेपालमा शाखा खोल्न दिने पर्याप्त व्यवस्था भएको जानकारीसमेत गराएको थियो। दुवै पक्षबीच केन्द्रीय बैंक तथा वाणिज्य बैंकका शाखा कार्यालय खोल्नेमा सहमति भएको थियो।

प्रकाशित मिति : April 19, 2021 at 2:31 pm