२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

माधव नेपालका कार्यकर्तालाई शान्ता चाैधरीको जवाफः हो कमरेड ! म कमलरी थिएँ

-शान्ता चाैधरी

हो कमरेड ! म कमलरी थिएँ , जमिन्दारको घरमा भाँडा माझेर १८ वर्ष बिताएको थिएँ । यस बारे मैले धेरै बताई रहन पर्दैन तर म बिगतमा जति अपमानित भएँ , हेप्पिएँ सायद मुक्त भए पछि कहिल्यै अपमानित हुन पर्दैन, यही सोच्ने गर्थें । तर आज पनि मैले बोल्ने बित्तिकै तँ कमलरी होस नबोल, मैले लेख्ने बित्तिकै तँ कमलरी होस नलेख भन्ने आसयबाट प्रतिक्रिया आउन थाल्छ ।

त्यसैले कहिलेकाहीं मान्छेका मस्तिष्कमा अनि मनमा गढेको सामन्तवाद जिँउदै रहेछ जस्तो लाग्छ । शोषणको दनदनी दन्किएको आगोमा जल्दाको पिडा कस्तो हुन्छ भन्ने अनुभुति गरेकाले होला यस्ता अभिव्यक्तिले मलाई ग्लानी होईन उर्जा थपेको हुन्छ ।

कमरेडहरु,

मैले कमरेड माधव नेपालको अपमान कहिले गरें ? एकपटक बताई दिनुहोस् न कमरेड ! मलाई संविधान सभाको सदस्य बनाउन वहाँले गरेको योगदानको तिरस्कार मैले कहिले गरें ? भनिदिनुहोस न कमरेड ! मेरो नेतालाई मैले अनुरोध गर्न पाउँछु कि पाउँदिन ?

मैले धेरै जानेको छु, मार्क्सवादको ज्ञाता हो भन्ने म जस्तो सिकारुले कुनै दम्भ, घमण्ड गर्नु छैन र कहिल्यै गरेको पनि छैन । तर यत्ति हेक्का गर्दा हुन्छ कमरेड, आफुले जन्माएका आफ्ना सन्तान साना बालबालिकाका कुरा पनि बुवा आमाका निम्ति ज्ञानवर्दक हुन सक्छन ।

मलाई राजनीतिक मैदानमा ल्याएर अँखा खोलिदिने आदरणीय नेताको इतिहास सुनौलो देख्न चाहन्छु म । लामो समयसम्मको त्याग बलिदान र समर्पणको इतिहास मेटाउँदै राजनीतिक जीवनको उत्तरार्धमा आइपुग्दा वहाँबाट कुनै गल्ती नगरे हुन्थ्यो भन्ने चाहन्छु म ।

नेकपा हुँदा त्यो विशाल पार्टीको महाधिवेशनबाट एक पटक अध्यक्ष बनाउने प्रगाढ इच्छा थियो, म र म जस्ता कयौं शुभचिन्तकको लाख बिन्ती सुन्न सक्नु भएमा त्यसमा दु:ख लाग्छ मलाई । आज पनि पार्टी निर्माणको नेतृत्व गर्ने बाटो हिंड्नुहोस तर ध्वंसको होईन, एउटा श्रद्धा गरेको मेरो नेतालाई, आदरणीय मानेको मेरो नेतालाई लेखेर भन्छु, बोलेर भन्छु, चिच्याएर भन्छु । (चाैधरीले फेसबुकमा लेखेको टिप्पणी यहाँ साभार गरिएको हो ।)

प्रकाशित मिति : 12:26