७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

अरुण भ्याली हाइड्रोपावरले ५२ लाख ४१ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्दै, क-कसले दिन पाउँछन् आवेदन ?


५ वैशाख, काठमाडाैँ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको ५० प्रतिशत हकप्रद सेयर वैशाख ६ गतेदेखि निष्कासन तथा बिक्री खुल्ला हुने भएको छ। कम्पनीले १ः०. ५ को अनुपातमा प्रतिसेयर रू. १०० अंकित दरको ५२ करोड ४१ लाख १९ हजार ७ सय रुपैयाँ बराबरको ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर बिक्री खुला गर्न लागेको हो ।  कम्पनीले उक्त हकप्रद निष्कासनको अनुमति माग्दै गत असोज २१ गते नेपाल धितोपत्र बोर्ड(सेबोन)मा निवेदन पेश गरेको थियो ।

सेबोनले कम्पनीलाई हकप्रद निष्कासन गर्न फागुन २५ गते अनुमति प्रदान गरेको हो । शतप्रतिशत हकप्रद सेयर विक्रीको लागि अनुमति मागेको कम्पनीलाई बोर्डले पहिलो चरणमा ५० प्रतिशत हकप्रद सेयर विक्री गर्न अनुमति दिएको हो । यो हकप्रदमा आउँदो वैशाख २६ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।  हकप्रदका लागि अरुण भ्यालीले गत चैत ९ गते एक दिनका लागि बुक क्लोज गरेको थियो।

यसको अर्थ गत चैत ८ गतेसम्म कायम सेयरधनीहरुमात्र अरुण भ्यालीको हकप्रदमा आवेदन दिन योग्य भएका छन्। धितोपत्र बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ। सेयरधनीहरुले काठमाण्डौको थापाथलीस्थित ट्रेड टावरमा रहेको अरुण भ्याली हाइड्रोपावरको कम्पनी, काठमाण्डौको हात्तीसारस्थित मुक्तिनाथ क्यापिटलको कार्यालय, मुक्तिनाथ विकास बैंकका शाखाहरु इटहरी, इलाम, पोखरा, नारायणगढ, सुर्खेत, नेपालगन्ज, धनगढी र जनकपुरका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्बा प्रणालीमार्फत समेत आवेदन दिन सक्नेछन्। यसैगरी सीडीएससी एन्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सकिने छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आईतवार १३:२६