३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

यान्त्रिक हलोले खेत जोत्न थाले महिला

—कमल खत्री
१५ असार, म्याग्दी । म्याग्दीका ग्रामीण महिलाले हिजोआज खेत जोत्न थालेका छन् ।महिलाले गोरुको सहायताले खेत जोत्न नहुने परम्परा रहे पनि पछिल्लो समयमा यान्त्रिक हलो गाउँगाउँमा भित्रिएपछि उनीहरु खेत जोत्न थालेका हुन् ।

बिहीबार रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा धान रोपाइँमा यान्त्रिक हलोले खेत जोतिरहेकी कमला केसीले यान्त्रिक हलो (मिनी पावर टिलर) गाउँमा भित्रिएपछि महिलालाई पनि खेत जोत्न सक्ने सुविधा भएको बताउनुभयो ।

“गोरुले जोत्दा महिलाले हलो छुन हुँदैन भन्थे, खेत जोत्नका लागि मान्छे खोज्नुपर्ने बाध्यता थियो, अहिले यान्त्रिक हलो भित्रिएपछि भाडामा लिएर आफँैले समेत जोत्ने गर्छौं”, केसीले भन्नुभयो ।

पछिल्लो समय गाउँघरमा गोरु पाल्ने चलन हराउँदै गएको सन्दर्भमा यान्त्रिक हलोको प्रयोग बढिरहेको छ । छिटो र छरितोरुपमा खेत जोत्न सकिने भएकाले पनि कृषक यान्त्रिक हलोको प्रयोगतर्फ आकर्षित भइरहेका छन् ।

गोरु पाल्न झन्झट हुने गरेको अवस्थामा आफूलाई आवश्यक परेको समयका लागिमात्रै खर्च गरेर पनि खेत जोत्न सकिने भएकाले यान्त्रिक हलो कृषकलाई उपयोगी बनेको मौवाफाँटका कृषक मुकुन्द शर्माले बताउनुभयो ।

गोरुको विकल्पमा ट्र्याक्टरको प्रयोगले खेत रोपाइँलगायतको खेती गर्दा लागतसमेत कम लाग्ने उहाँको भनाई छ ।

स्थानीय कृषकसंग मिलेर शर्माले दुईवटा हाते ट्र्याक्टरका रुपमा चिनिने यान्त्रिक हलो रु ७० हजारमा खरिद गरेका छन् । यसका लागि रघुगंगा गाउँपालिकाले ५० प्रतिशत अनुदान दिएको अर्का कृषक मुक्ति सुवेदीले बताउनुभयो ।

“परम्परागत रुपमा खेत जोत्नका लागि वर्षभरि गोरु पाल्नु पर्दथ्यो, गोरु पाल्दा लागत पनि बढी हुन्छ, साँध सिमानामा रहेका अन्य व्यक्तिको बाली खाइदिने डर पनि हुन्छ, तर यान्त्रिक हलोले जोत्दा समग्रमा छिटो र छरितोसँगै लागतसमेत कम हुन आउँछ”, सुवेदीले भन्नुभयो ।

कृषिलाई व्यावसायिक बनाउने उद्देश्यले रघुगंगा गाउँपालिकाले प्रविधिमैत्री कृषितर्फ कृषकलाई आकर्षित गर्ने नीति लिएको छ । यस वर्ष गाउँपालिकाले कृषकको मागबमोजिम सातवटा यान्त्रिक हलो अनुदानमा वितरण गरेको छ ।

गाउँपालिकाले पिप्ले र मौवाफाँटमा चार, भगवती, पाखापानी र चिमखोलामा एक एकवटा यान्त्रिक हलो अनुदानमा वितरण गरेको गाउँपालिकाका कृषि संयोजक चन्द्रकुमार आलेले जानकारी दिनुभयो ।

थोरै समयमा धेरै खेतबारी जोत्न सकिने, गोरु पाल्ने झन्झट नहुने र कम लागतमा खेती गर्न सकिने भएकाले ५० प्रतिशत अनुदानमा कृषकलाई यान्त्रिक हलो वितरण गरिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।

“गाउँघरमा जनशक्तिको अभाव छ, गोरु पाल्नका लागि घाँसदेखि गोठसम्मको बन्दोबस्त गर्नुपर्ने झन्झटलाई हटाउन प्रविधिमैत्री कृषिमा जोड दिएका छौँ, उहाँले भन्नुभयो, “यान्त्रिक हलोतर्फ कृषकलाई आकर्षित गराएर व्यावसायिक बनाउने हाम्रो लक्ष्य छ ।”

जिल्लाको रघुगंगा गाउँपालिकासँगै मंगला, धौलागिरि र मालिका गाउँपालिकाले समेत यस वर्ष कृषकलाई अनुदानमा यान्त्रिक हलो वितरण गरेका छन् ।

प्रकाशित मिति : June 29, 2018 at 3:30 pm