३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

सेभ द चिल्ड्रेनद्धारा नुवाकोटमा एकीकृत बस्ती निर्माण गरी हस्तान्तरण

१५ असार, नुवाकोट । भूकम्पले घर भत्काएर टहरामा बस्दै आएका तारकेश्वर गाउँपालिका–१ दाङसिङ काफलपानीका भूकम्प पीडितहरुका लागि निर्माण गरेको एकीकृत बस्तीलाई औपचारिक रुपमा हस्तान्तरण गरिएको छ ।‘सुन्दर बस्ती’ नाम दिइएको उक्त नयाँ बस्तीमा भूकम्प पीडितहरु बिहीबारदेखि बस्न थालेका छन् । यहाँ एकै थलोमा १७ घर निर्माण गरिएको छ ।

बस्तीकै घरहरुमध्ये सुमना तामाङको घरमा ‘गृह प्रवेश’ गरेर नयाँ घरमा स्थानीयहरु बस्न थालेका हुन् । छरिएको घरहरुलाई एकै स्थानमा निर्माण गरेर नयाँ टोल नै खडा भएपछि खुशी लागेको सुमनाले बताउनुभयो । ‘टहरामा बस्दै आएका थियौँ । सरकार र संघसंस्थाको सहयोगमा राम्रो बस्ती नै खडा भएको छ । यसले हामीलाई खुशी बनाएको छ । सुरक्षित घरमा बस्न पाएका छौँ’ उहाँले भन्नुभयो ।

सेभ द चिल्ड्रेन र सामुदायिक विकास केन्द्रको प्राविधिक तथा आर्थिक सहयोग र तारकेश्वर गाउँपालिकाको समन्वयमा निर्माण गरिएको बस्तीको गृह प्रवेश कार्यक्रममा प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामाले एकिकृत बस्तीको अवधारणालाई भूकम्पपछि सरकारले पर्याप्त स्थानमा निर्माण गर्न नसकेको बताउनुभयो । उहाँले भौगोलिक रुपमा विकट स्थानमा एकिकृत बस्ती निर्माण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

संघसंस्थाले नुवाकोटमा धेरै घर निर्माण गरेपछि यसरी एकिकृत बस्ती यहाँमात्र निर्माण गरेको तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेश वस्तीले बताउनुभयो ।
एकिकृत बस्ती अवलोकन गर्न आउनु भएका सामाज कल्याण परिषद्का सदस्य–सचिव डिल्लीप्रसाद भट्टले गाउँपालिकाले आफ्ना क्षेत्रमा संभव भएसम्म एकिकृत बस्तीको विकास गराउन ध्यान दिनुपर्ने बताउनुभयो ।

सेभ द चिल्ड्रेनको सहयोगमा सामुदायिक विकास केन्द्र नेपालले जिल्लामा २३० घर निर्माणमा सहयोग गरेको सामुदायिक विकास केन्द्र नेपालका अध्यक्ष नारायण नेपालले बताउनुभयो । संस्थाले तारकेश्वर–१ दाङसिङमा ९३ घर, तारकेश्वर–५ गोस्र्याङमा १३७ घर र तारकेश्वर २ र ३ तारुकामा एक सय घर निर्माणमा सहयोग गरेको छ ।

सरकारले दिने रु तीन लाख अनुदान बाहेक संस्थाले ढुवानी, खानेपानी, उद्यान निर्माणको लागि छुट्टै रकम खर्च गर्नका लागि ‘कामका लागि नगद’ कार्यक्रमसमेत सञ्चालन गरेर भूकम्प पीडितहरुलाई आर्थिक जोहो गर्नसमेत सघाएको बस्ती निर्माण समितिका संयोजक होमबहादुर तामाङले बताउनुभयो ।

प्रकाशित मिति : June 29, 2018 at 1:39 pm