बादलले आवज दिँदै बर्साउने झरीसँग मेरो प्रेम छ प्रिय (असार १५ विशेष कविता)
-बिनु पाेखरेल
बाहिर झरी छ
एका बिहानै ,
मोबाइलको इन्बोक्समा
मायलुको म्यासेज आयो
बाहिर झरी छ ,आज कतै ननिस्कनु है ,?
हो, आज झरी छ बाहिर
किन नहोस असारको मध्य भैसकेको छ,
अब पनि पानी नपरे धान कसरी रोप्नु ?
अनि माना रोपेर मुरी कसरी फलाउनु ?
रीतु अनुसास मौसम नफेरीए, र मौसम अनुसारका अन्न नफले,
देशैको भोकमरी धानेको किसानले घर कसरी चलाउनु ?
तर यो त शहर हो प्रिय ,
यहाँ त सिमेन्ट को पर्खालको खेती गर्ने मान्छेहरु बस्छन् ।
यी सिमिन्ट्का पर्खालमा,
फलामको मन भिरेर जन्मी हुर्केकाहरु लाई
यो झरीले थोपा थोपामा प्रीत घोलेर ल्याउने कुरा बुझ्दैनन्न ,
एक बेला आएको यो बर्खा नि झर्को लाग्दो हुन्छ
त्यसैले माथिबाट तल झर्दै गरेकी घर्बेटिको आवाज सुनियो
यो कुकुरको मुत पनि कति झरेको ?
यहाँ यो झरी को के काम , ?
यहा त यो झरी मलाइ रुझाएर मज्जा लिने म बहेक अरु
काम छैन झरीको ,
बरु झरीले बर्साउने थोपा भन्दा धेरै गाली पाउछ ,
किसान को लागि अन्न फलाउने सुन पानी
यहाँकालाई फित्ते जुका ल्याउने कुकुरको मुत मात्र
तिमिलाई पनि यस्तै लाग्यो यो झरी , ?
किन तिमी यस्तो झिरीमा कहिल्यै रुझेनौ ,?
र त्यो झरीले बनाएको हिलोमा
आफै नचिनिने भएर कहिलै लत्पतिएनौ,?
रातभर परेको पानीले कुइन्टल भएको बिउको भारी
हिलो आलिमा बोकेर हिड्दा,
डोकैसहित मुहाने गरामा पछारीदा ,
ढोड्ले खप्प काटेको पैतालामा तितेपाती लागाई
रोपाहारसङै दिनभर धान रोप्दा नि
दुख्दैनथ्यो बालो मन
किनकी मेरो आभावमा हलकै मेलो रहन्थ्यो ,
तिमिले त्यो झरी झेलेनौ र यो झरीसंग डरायौ प्रीय ?
यसरीनै बानी परेर होला मलाई त
उकुसमुकुस बनाउने मन भित्रको एकनासे झरी भन्दा
यहि मौसम बदली भएर आउने झरी पृय छ मायालु ।
मलाई मौसमी मुसलधारे पानीले पनि गलाउदैन
जति मन्को निरन्तर्को झरीले दुखाएको छ ।
त्यसैले मोह छ ती ज्यान नै बगाएर लैजाने अना बृस्टि , अति वृष्टि र खण्ड बृस्टीहरुसँग ।
यी मनका झरीहरु त न कुनै रितु पर्खन्छ्न , न मौसम बदली भएको देखिन्छ । यी बिना कारण आइदिन्छ्न र मुहान फुटाएर बगिरहन्छन् ।
त्यसैले
बादलले आवज दिदै बर्साउने झरीसंग मेरो प्रेम छ प्रिय ।
-असार सम्झाउने पत्रकार/लेखक बिनु पोखरेलको यो कविता उहाँकाे फेसबुकबाट साभार गरिएकाे हाे ।
प्रकाशित मिति : १५ असार २०७५, शुक्रबार ०९:३८