३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

महिलाले ५० प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलन गर्नुपर्छः पम्फा भुसाल

२४ फागुन, काठमाडाैँ । नेकपा माझण्ड समूककी नेतृ पम्फा भुसालले महिलाहरुले ५० प्रतिशत अधिकार प्राप्तिको लागि आन्दोलन गर्नुपर्ने बताउनुभएको छ । सोमबार १ सय ११ औँ अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा अनेरास्ववियूले आयोजना गरेको टेम्पो चालक महिला सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ भुसालले ५० प्रतिशत भन्दा बढी संख्यामा रहेका महिलाहरुले सबै क्षेत्रमा ५० प्रतिशत भन्दा बढी अधिकार प्राप्तिको निम्ति आन्दोलन गर्नुपर्ने बताउनुभएको हो ।

संविधानत्ः महिलाहरुले धेरै अधिकार पाएको भएपनि कार्यान्वयनको चुनौती रहेको भन्दै उहाँले त्यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो – ‘हामी ५० प्रतिशत बढी रहेका महिलाले ५० प्रतिशत भन्दा बढी सबै क्षेत्रमा अवसर अवसर पाउनुपर्दछ । त्यसैले एकातिर पाएका अधिकारको कार्यान्वयन हो भने नपाएका अधिकारको निम्ति यो आन्दोलनलाई निरन्तरता दिने कुरा पनि हो । आज संविधानत्ः, कानुनत्ः नेपाली जनता र नेपाली महिलाले धेरै अधिकार पाएको हामी मान्छौँ । तर कार्यान्वयनको तहमा चुनौती छ, समस्या छ ।

हामीले राष्ट्र प्रमुखदेखि न्यायपालिका लगायतका विभिन्न क्षेत्रमा महिलाको प्रतिनिधित्व भएको छ । तर संविधानले व्यवस्था गरेका सबै अधिकार सबै ठाउँमा लागु भइराखेका छैनन् । हामीले १६ वटा मौलिक अधिकार संविधानमा सुनिश्चित गरेका छौँ । ती मौलिक अधिकार सम्बन्धी कानुन बनेका छन् । त्यसको कार्यान्वयन भइराखेको छैन त्यो कार्यान्वयन हुनुपर्छ । र ३३ प्रतिशत महिलाको निम्ति सुनिश्चित गर्दा १७ प्रतिशत महिलाको अधिकार गरेर बराबरीको अधिकार पाउने कुरालाई हामीले अबको माग र आन्दोलनको रुपमा अगाडी बढाउनुपर्छ ।’

नेतृ भुसालले राजनीतिक अधिकारले मात्रै नपुग्ने भन्दै अधिकारहरुको कार्यान्वयनको आधार आर्थिक समानता भएकोले महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभयो । महिलालाई पैतृक सम्पति माथिको अधिकार सुनिश्चित गर्नुपर्ने, घरेलु कामलाई आर्थिक उत्पादनको काममा गणना गरिनुपर्ने तथा बेरोजगार महिलाहरुलाई भत्ता दिइ संविधानले प्रदान गरेको अधिकारलाई सरकारले कार्यान्वयन गर्नुपर्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘राजनीतिक अधिकार र संविधान र कानुनमा पाउने अधिकारले मात्रै पुग्दैन । त्यसको कार्यान्वयन र कार्यान्वयनको आधार आर्थिक समानता हो । त्यसैले आर्थिक हिसाबले सबै क्षेत्रमा समान र आत्मनिर्भर बन्न सक्ने महिलाको स्थितिलाई सुनिश्चित गरेर मात्रै राजनीतिक लगायतका अरु सामाजिक, आर्थिक अधिकारका हामीले उपभोग गर्न सक्छौँ ।

त्यसैले पैतृक सम्पति माथिको समान अधिकारलाई जीवन व्यवहारमा कार्यान्वयन गर्ने कुरा, घरेलु काम जो अहिलेसम्म आर्थिक उत्पादनमा जोडिन्न त्यसलाई आर्थिक उत्पादनको काममा गणना गरेर अनि त्यसको मुल्यबोध गराउने कुरा र रोजगारको ग्यारेन्टी र रोजगार दिन नसक्दा महिलाहरुलाई बेरोजगार भत्ता दिएर अनि आत्मनिर्भर र स्वतन्त्र ढंगले अगाडी बढ्नसक्ने अधिकारको संविधान र कानुनले ग्यारेन्टी गरेको छ । अब राज्य र सरकारले त्यसको कार्यान्वयन गर्नुपर्दछ ।’

अनेरास्ववियूले टेम्पो चालक महिलाहरुलाई सम्मान गरेको छ । यस्तैगरी अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकै अवसर पारेर ललितपुर महानगरपालिका, नेपाल साइकल सोसाइटी र रोटरी क्लव अफ पाटनले साइकल र्याली गरेका छन् । विभिन्न जनचेतनामुलक पर्चा, पम्प्लेट टाँसेर कुदेका साइकलले पाटन नगर परिक्रमा गरेको थियो ।

प्रकाशित मिति : March 8, 2021 at 2:23 pm