तीन बुँदे सहमतिभित्र नेपाललाई सुन्दर बनाउने सपना छः विप्लव
२१ फागुन, काठमाडाैँ । मुलधारको राजनीतिमा प्रवेश गरेको नेत्रविक्रम चन्द विप्लवले कम्युनिष्टहरु विद्रोही मात्र नभएर शान्तिदूत पनि भएको बताएका छन् । शुक्रबार सरकारसँग तीन बुँदे सहमतिमा हस्ताक्षर गरे लगत्तै भाषण गर्दै उनले यसलाई ‘घाम र जूनको मिलन’ को संज्ञा दिएका छन् ।
राष्ट्रिय सभागृहमा आयोजित हस्ताक्षर समारोहमा बोल्दै विप्लवले भने, ‘हामी कम्युनिष्टहरु विद्रोही हौं । तर बदलिएको परिस्थिति र राज्यले आफ्नो भूमिका पुरा गरेको अवस्थामा कम्युनिष्टहरु शान्तिका दूत पनि हुन् ।’उनले तीन बुँदे सहमतिमा नेकपा प्रतिबद्ध रहेको बताए । ‘यसमा आशंका र कुतर्क गर्न जरुरी छैन । हामी तीन बुँदेमा प्रतिवद्ध छौं,’ उनले भने ।
समारोहमा बोल्दै उनले प्रधानमन्त्री केपी ओलीसँग यसअघि पनि भेट र कुराकानी भएको बताए । उनले आफ्ना सहयात्रीहरूसँग छिट्टै खुला आकाशमा भेट हुने भन्दै खुशी समेत व्यक्त गरेका छन् । ‘अहिले पनि हाम्रा डेढ सयभन्दा बढी कमरेडहरू जेलमा हुनुहुन्छ । छुट्दै पनि हुनुहुन्छ । कमरेड कञ्चन छुटेर संयोगले यहाँ आउनुभएको छ । म उहाँलाई स्वागत पनि गर्न चाहन्छु,’ विप्लवले भने, ‘हाम्रा साथीहरू छुट्नुहुनेछ, अनि हामी मुक्त आकाशमा मिलन हुनेछौं । यसबाट सरकार र नेपाल कम्युनिस्ट पार्टी हामी दुवैले जिम्मेवारी पूरा गरेको महशुस भएको छ ।’

उनले नेपाली राजनीतिक आन्दोलनको नयाँ दिन सफल पार्न तीन बुँदे सहमतिपत्र सफलतापूर्वक तयार पार्ने र वार्ता सफल बनाएका वार्ता टोलीका सदस्यलाई बधाईसमेत दिए । उनले सरकार, यसका जिम्मेवार नेतृत्वगण र वार्तालाई सफलतातर्फ अग्रसर गराउन विभिन्न तहबाट भूमिका निर्वाह गर्ने सञ्चारकर्मी, सुरक्षाकर्मी, मानव अधिकारकर्मीलगायत सबैलाई सम्मानसहित धन्यवाद ज्ञापन गरे । ‘यो सहमति केवल नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीको मात्र कुरा होइन,’ उनले भने, ‘केही नेताहरुको कुरामात्र होइन, सहमतिभित्र लुकेको महान आकांक्षा छ ।’ उनका अनुसार यो सहमतिभित्र नेपाललाई सुन्दर बनाउने सपना छ । ‘दिगो शान्ति, स्थिरता, समृद्धिको आकांक्षा र युवामा हुर्किएको समृद्ध जीवनको चाहना छ,’ उनले भने ।
करीब ३ वर्षको भूमिगत राजनीतिपछि विप्लव शुक्रवारबाट शान्तिपूर्ण राजनीतिमा फर्किएका हुन् ।
प्रकाशित मिति : 15:46









