२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

सप्तरी जिल्ला अदालतद्धारा बहुविवाहका अभियुक्त विनोदकुमारलाई एक वर्ष कैद

१८ फागुन, सप्तरी । बहुविवाहका आरोपित एक अभियुक्तलाई सप्तरी जिल्ला अदालतले एक वर्ष कैद र रु १० हजार जरिवानाको फैसला गरेको छ । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले सोमबार अभियोग दाबी पुग्ने फैसला गर्दै सिरहाको लहान नगरपालिका–१८ भदैयाका ३४ वर्षीय विनोदकुमार चौधरीलाई उक्त सजाय ठहर गरेको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताउनुभयो ।

चौधरीकी श्रीमती गयादेवी चौधरीले उहाँका श्रीमान् विनोदले सप्तरीको सुरुङ्गा नगरपालिका–५ की २८ वर्षीया फुलकुमारी चौधरीसँग बहुविवाह गरेको भन्दै विसं २०७५ भदौ १४ गते इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दर्ता गराउनुभएको थियो ।

आरोपित सुरुङ्गा नगरपालिका–६ स्थित श्री त्रियुगा डिस्टिलरीमा कार्यरत छन् । आरोपित विनोदले फुलकुमारीकै घरमा बहुविवाह गरेको भन्दै पीडितले उजुरी दिएपछि इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीले विनोदलाई विसं २०७५ भदौ १५ गते पक्राउ गरेको थियो । सप्तरी जिल्ला अदालतको आदेशमा आरोपित विनोद २०७५ असोज ११ गते रु ५० हजार धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भएका थिए ।

अर्का आरोपित फुलकुमारी हालसम्म पक्राउ परेकी छैनन् । उहाँको हकमा मुद्दा मुल्तबी राखिएको सूचना अधिकारी बुढाथोकीले जानकारी दिनुभयो । सामाजिक परम्पराअनुसार विसं २०६५ मा विवाहिता पीडितको १० वर्षीया एक छोरी छिन् ।

प्रकाशित मिति : March 2, 2021 at 10:36 am