२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

प्रतिनिधिसभा विघटन क्रान्तिकारी र अग्रगामी कदमः गृहमन्त्री थापा

८ फागुन, विराटनगर। नेकपाका सचिवालय सदस्य एंव गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभा विघटन क्रान्तिकारी र अग्रगामी कदम भएको बताएका छन । शनिबार विराटनगरमा आयोजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आमसभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले प्रतिनिधिसभा विघटन संवैधानिक भएको बताए ।

‘प्रतिनिधिसभा विघटन क्रान्तिकारी र अग्रगामी कदम हो’, सभालाई सम्बोधन गर्दै थापाले भने, ‘यो कदम संवैधानिक पनि छ ।’ गृहमन्त्री थापाले देशको विकास, सुशासन र प्रगतिको निम्ति स्थायित्व अनिवार्य भएकाले त्यसका लागि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको जानकारी दिए ।

उनले संसद पुनस्र्थापना भए फेरि संसदीय फोहोरी खेल हुने भन्दै स्थायित्वका निम्ति सरकारले घोषणा गरेको चुनावमा होमिन अपिल समेत गरे । उनले संसद् पुनस्र्थापना भए फेरि फोहोरी खेल सुरु भए देशमा स्थायित्व नहुने बताए ।

‘पुरानो संसद जसले अस्थिरता जन्मायो । सरकारलाई काम गर्न दिएन । सरकारका काममा अवरोध खडा गर्यो’, थापाले भने, ‘त्यसैले नयाँ प्रतिनिधिसभाको आवश्यकता भयो। त्यही आवश्यकताका लागि पुरानो संसदको विघटन र नयाँ संसदले मात्र यो देशमा स्यायित्व कायम गर्न सक्छ। देशको समृद्धिको यात्रालाई अगाडि बढाउन सक्छ ।’

प्रकाशित मिति : 17:08