नेकपा तेह्रथुम–काठमाडौँ सम्पर्क मञ्चको सिंगो टिम मुलधारको नेकपामा
३० माघ, काठमाडाैँ । नेकपा तेह्रथुम काठमाडौं–सम्पर्क मञ्चको आज काठमाडौंमा आयोजित वृहत कार्यकर्ता भेलाबाट अध्यक्ष केदार गौतमको नेतृत्वमा ५१ सदस्यीय सम्पर्क मञ्च कार्यसमिति सर्वसम्मत् पूनर्गठन भएको छ । भेलाले उपाध्यक्षमा छवि सुवेदी, सचिबमा विष्णु खनाल, सहसचिबमा मात्रिका घिमिरे र कोषाध्यक्षमा गंगा तुम्बाहाङ्फेलाई चयन गरेको छ । पूनर्गठित मञ्च कमिटीमा तेह्रथुम जिल्लाका सबै स्थानीय तहको उल्लेख्य प्रतिनिधित्व रहेको छ ।

भेलामा प्रमुख अतिथिको रुपमा नेकपा केन्द्रीय कमिटि सदस्य एवं प्रदेश नं. १ सम्पर्क संगठन कमिटी अध्यक्ष इन्द्र भण्डारी उपस्थित हुनुभएको थियो । विशेष अतिथि पार्टी केन्द्रीय सदस्य एवं साँस्कृतिक संस्थानका अध्यक्ष प्रेम अधिकारी लगायत प्रदेश संपर्क संगठन कमिटीका नेताहरु, मञ्चका पूर्व अध्यक्षहरु राजेश कुमार लिम्बू, वीरबहादुर थापा, सम्पर्क मञ्चका निवर्तमान कमिटीका सम्पूर्ण पदाधिकारीहरु एवं सदस्यहरु, जिल्लाबाट काठमाडौंमा आई विभिन्न पेशा व्यवसायमा संलग्न रहनुभएका महानुभावहरु, समाजसेवीहरु लगायतको भव्य उपस्थिति रहेको थियो ।

नेकपा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री के.पी. शर्मा ओली, पर्यटन मन्त्री भानु भक्त ढकाल लगायतका नेतृत्वहरुको जन्म जिल्ला समेत रहेको तेह्रथुम जिल्ला कम्युनिष्ट आन्दोलनको उर्वर भूमिको रुपमा रहेको छ । तेह्रथुम जिल्ला भूगोलमा पनि नेकपाको संस्थापन पक्षको लोकप्रियता देखिएको छ । तेह्रथुम–काठमाडौं सम्पर्क मञ्चको पूनर्गठनसँगै विगत करिब ३ बर्षदेखिको निष्कृयता समाप्त भएको छ भने पार्टी पंक्तिमा उत्साह थपिएको छ ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि इन्द्र भण्डारीले पार्टी र सरकारलाई गतिमा जानबाट रोक्ने तत्वहरुको कारणले पार्टीमा अहिलेका अवस्था आएको बताउँदै अब पार्टी अझ सुदृढ भएर जाने बताउनु भयो । उहाँले नवगठित कार्यसमितिलाई विचलित नभई उच्च मनोबल र उत्साहका साथ सक्रिय हुन निर्देशन दिनुभयो । अर्का केन्द्रीय सदस्य प्रेम अधिकारीले निष्ठा र इमानका साथ पार्टीको मूलधार र संस्थापन पक्षमा धैर्यताका साथ रहेमा अवश्य सफलता प्राप्त हुने भन्दै पार्टी भित्रका खराब तत्वहरुलाई चिनेर तिनीहरुलाई परास्त गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो ।
भेलाले कार्यसमितिको पूनर्गठनका साथै पार्टीले आगामी फागुन ८ गते प्रदेश नं. १ को विराटनगरमा आयोजना गर्न लागेको वृहत सभामा उल्लेख्य उपस्थिति जनाउने बारे पनि निर्णय गरेकाे छ । भेलामा बोल्दै मञ्चका अध्यक्ष केदार गौतमले मञ्चको पूनर्गठनबाट नयाँ उत्साह र उर्जा प्राप्त भएको र अब मञ्चले आफ्नो सही गति लिने बताउनु भयो ।

प्रकाशित मिति : February 12, 2021 at 9:16 pm









