भ्रष्टाचारी जोसुकै होस् दण्डित गर्न सरकारले अवरोध गर्दैन : प्रधानमन्त्री ओली
२८ माघ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काममा सरकारले कुनै हस्तक्षेप नगर्ने बताउनुभएकाे छ । प्रधानमन्त्री ओलीले आयोगको ३० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अख्तियारको स्थापना नै निष्पक्षरूपमा अनुसन्धान गरेर भ्रष्टाचारीलाई कानूनी कारबाही गराउन भएकाले सरकारले त्यसमा सहयोग गर्ने तर हस्तक्षेप नगर्ने बताउनुभयाे ।
प्रधानमन्त्री ओलीले कतिपय व्यक्तिमा सरकारले जे भन्यो अख्तियारले त्यही गर्छ भन्ने भ्रम भन्दै अख्तियारलाई सरकारको लाचार छायाँ बन्न नदिने समेत बताउनुभयाे । प्रधानमन्त्री ओलीले भन्नुभयाे, ‘संविधान र जनतालाई शिरमा राखेर अगाडि बढ्नुहोस् । भ्रष्टाचारी जोसुकै होस् दण्डित गर्न सरकारले अवरोध गर्नेछैन । अख्तियार स्वतन्त्र छ, हामी यसो गर उसो गर भन्दैनौं’ ।

उहाँले केही संस्था र सञ्चारमाध्यम नेपाललाई भ्रष्टाचारीको देशकारूपमा स्थापित गराउन सक्रिय रहेको बताउँदै त्यस्तो प्रयास विफल पारिने बताउनुभयाे । प्रधानमन्त्री ओलीले अख्तियारको काम हालसम्म सन्तोषजनक रहेको बताउँदै भ्रष्टाचार गर्ने मात्रै नभई भ्रष्ट मनोवृत्ति राख्ने मान्छेसमेत अख्तियारसँग तर्सिएको बताउनुभयाे । सरकार भ्रष्टाचार नियन्त्रणका प्रतिबद्ध रहेको समेत उहाँले प्रष्ट पार्नुभयाे ।
प्रकाशित मिति : 13:54









