२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

जलवायु परिवर्तन नेपालको पनि प्राथमिकताः उपप्रधानमन्त्री पोखरेल

२१ माघ, काठमाडाैँ । उपप्रधानमन्त्री ईश्वर पोखरेल समक्ष नेपालका लागि संयुक्त अधिराज्य (बेलायत)का राजदूत निकोला पोलिटले शिष्टाचार भेट गर्नुभएको छ । भेटका क्रममा उपप्रधानमन्त्री र राजदूतबाट नेपाल र संयुक्त अधिराज्यबीच रहेको मित्रता र द्विपक्षीय सहयोगका विविध पक्षका सम्बन्धमा छलफल भएको छ । सो क्रममा उपप्रधानमन्त्रीले नेपाल र संयुक्त अधिराज्यबीच दुई शताब्दीदेखिको महत्वपूर्ण र निरन्तर सम्बन्ध रहेको चर्चा गर्नुभयो ।

भेटको अवसरमा राजदूतबाट नेपालले जोखिममा रहेका आफ्ना नागरिकका लागि शुरू गरेको कोभिड-१९ विरुद्धको खोप अभियानको सराहना गर्दै नेपाललाई यस अभियानमा सहयोग गर्न संयुक्त अधिराज्य ईच्छुक रहेको जानकारी गराउनुभयो । उक्त अवसरमा उहाँले नोभेम्बर २०२१ मा संयुक्त अधिराज्यको ग्लासगोमा हुन गईरहेको जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा नेपालको सक्रिय सहभागिता रहने विश्वास व्यक्त गर्नुभयो ।

उक्त भेटका क्रममा उपप्रधानमन्त्रीबाट नेपाल सरकारले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र स्थापना गरी सम्बन्धित मन्त्रालयहरु मार्फत् सो रोगको नियन्त्रण, रोकथाम र उपचारका लागि चालेको अभियानले रोग पहिचान र नियन्त्रण प्रभावकारी भएको जानकारी दिनुभयो । साथै उपप्रधानमन्त्रीले संयुक्त अधिराज्यबाट नेपालको विकासमा भैरहेको सहयोग र कोभिड-१९ को उपचारका निमित्त सहयोग गर्ने प्रतिबद्धताका लागि नेपाल सरकारको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो ।

उपप्रधानमन्त्रीबाट जलवायु परिवर्तन नेपालको पनि प्राथमिकतामा रहेको जानकारी गराउँदै सन् २०१८ मा पोल्याण्डमा भएको सम्मेलनमा राष्ट्रपतिको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको सहभागिता रहेको जानकारी गराउनुभयो । साथै उपप्रधानमन्त्रीबाट नेपाललाई समृद्धि, स्थिरता र विकासमा गर्ने अभियानमा संयुक्त अधिराज्यको निरन्तर सहयोग रहने अपेक्षा समेत व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : 09:58