प्रचण्डविरुद्ध अवहेलना मुद्दा दर्ता, मंगलबारका लागि पेसी तोकियो
१९ माघ, काठमाडाैँ । विभाजित नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । प्रचण्डले न्यायाधीशहरुले जनभावना अनुसार फैसला नगरे जनताको अदालतबाट फैसला गर्ने अभिव्यक्ति दिएको भन्दै अधिवक्ता समिर बलामीले अवहेलनाको मुद्दा चलाउन निवेदन दिएका थिए । सर्वोच्च अदालतले बलामीको निवेदन आज दर्ता गरी भोलि मंगलबारका लागि पेसी तोकेको हाे ।

निवेदनमा प्रतिनिधि सभा विघटन सम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई गम्भीर रूपमा प्रभावित पार्ने कार्य भएको र स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको मान्यता र संवैधानिक एवं कानुनी व्यवस्था प्रतिकूल भएको भन्दै अदालतको अवहेलना मुद्दा दायर गर्नुपरेको उल्लेख गरिएको छ।
प्रचण्डले धम्कीपूर्ण भाषा प्रयोग गरी अदालतलाई गम्भीर रूपमा त्रसित, प्रभावित गरेको र जनतालाई अदालतको काम कारबाहीसँगै स्वेच्छताको विषयमा गम्भीर भ्रम सृजना गरेको तथा नेपालको संविधान र कानुनले व्यवस्था गरेको, मान्यता प्रदान गरेका संवैधानिक सर्वोच्चता, विधिको शासन, शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको मान्यता भन्दा विपरित रहेको पनि रिट निवेदनमा उल्लेख छ।
प्रकाशित मिति : 11:19









