१ असार २०८३, सोमबार | Mon Jun 15 2026

नेकपा सिन्धु-काठमाडौँ सम्पर्क मञ्चमा आचार्य

१८ माघ, काठमाडाैँ । नेकपा सिन्धुपाल्चोक काठमाडौ सम्पर्क मञ्चको १२ औं सम्मेलन आयोजक कमिटी गठन भएको छ । सम्पर्क मञ्चका सचिव राजन आचार्यलाई संयोजक बनाउदै १०१ कमिटीको घोषणा गरिएको हो। आज राजधानीको चाबहिलमा सम्पर्क मञ्चको कार्यक्रम भएको हो। कार्यक्रममा मञ्चका अध्यक्ष शिवहरी सापकोटाको सभापतित्व अनि राजन आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए ।

केशव बडाल प्रमुख अतिथि, राजन भट्टराई र दावा लामा विशेष अतिथि थिए। उक्त कार्यक्रममा केपी शर्मा ओली नेतृत्वको नेकपाका स्थायी समिति सदस्य केशव बडालले प्रचण्डको महत्वाकांक्षा र माधव नेपालको ईगो सेन्ट्रिक मानसिकताका कारण पार्टी विभाजनको अवस्था उत्पन्न भएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेकपा सिन्धु काठमाडौं सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै नेता बडालले पार्टी विभाजनमा प्रचण्डको मात्र दोष नभई मुख्यत: माधव नेपालको ईगोले काम गरेको बताए ।

नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीसँगको माधव नेपालको ईगो केपी ओलीसम्म आइपुग्दा आजको पार्टी एकता कमजोर बनेको उनको टिप्पणी थियो । ३८ वर्षदेखि एउटै कमिटिमा बसेर काम गरेको स्मरण गर्दै बडालले नेता माधव नेपालको ईगो सेन्ट्रिक विगतका सन्दर्भहरुको खुलासा समेत गरे ।

बडालले भने- सीपी मैनाली महासचिव हुँदादेखि उहाँको हालिमुहाली सुरु भयो, त्यसपछि जेएन कम्रेड महासचिव हुँदा पनि तालासाँचो आफ्नै हातमा राख्नुभयो मदन कम्रेड नेतृत्वमा आएपछि उहाँको हालिमुहाली चल्न छाड्यो अनि ईगो र कुण्ठाग्रस्त मानसिकता उहाँमा हावी भयो। त्यही इगो केपी ओलीसम्म आइपुगेको हो ।

पाँचौं महाधिवेशनको बेला मदन भण्डारीले प्रकाशन गरेको जबजको वैचारिक पुस्तक वितरण गर्न माधव नेपालले रोकेको समेत बडालले दावी गरे । बडालका अनुसार अन्तत जबजको लाइन पास भएपछि मदन भण्डारीलाई ज्यान मार्ने सम्मका धम्की आउन थाल्यो । बडालले भने–मदन कम्रेडले सुरक्षा माग्नुभयो, माधव नेपालले घुमाउरो पारामा इन्कार गरेपछि उहाँलाई हामीले गुमाउनुपर्यो ।

प्रकाशित मिति : January 31, 2021 at 9:39 am