ओली नेतृत्वको नेकपामा पूर्व एमालेका ९५ प्रतिशत नेता तथा कार्यकर्ताः नेता बस्नेत
१० माघ, पाल्पा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता महेश बस्नेतले पूर्व एमालेका ९५ प्रतिशत नेता तथा कार्यकर्ता प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपामा रहेको बताउनुभएको छ । शनिबार पाल्पामा युवा संघको भेलामा सम्बाेधन गर्दै नेता बस्नेतले प्रचण्डका मिडियाले भ्रम छर्दै हिँडेको भए पनि तल्लो तहमा नेकपाका नेता कार्यकर्ता मुलधारको नेकपामै संगठित रहेको बताउनुभयो ।

नेता बस्नेतले दुई पार्टी मिलेर बनेको नेकपामा स्वार्थपूर्तीमा लाग्ने केही नेताहरुले अध्यक्ष ओलीलाई घेराबन्दीमा पार्ने र अविश्वासको प्रस्तावबाट हटाउने षड्यन्त्र गरेपछि प्रधानमन्त्रीले बाध्य भएर संवैधानिक अधिकारको प्रयोग गरेर संसद विघटन गरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘साइबर सेना स्याल होईन, अब साईबर सेना सिंह बन्नुपर्ने आवश्यकता छ, त्यही साइबर सेनाले प्रचण्ड र माधवलाई ठेगान लगाउने छ । वाइडबडी, बालुवाटार र लडाकु काण्डलाई ओलीले उठाउनु हुनेछ र यिनीहरु जेलमा हुनेछन् ।’
उहाँले सरकारको लोकप्रिय कार्यक्रम र राष्ट्रियताको पक्षमा लिएको अडानबाट आत्तिएका नेताहरुले आफ्नै प्रधानमन्त्रीविरुद्ध लाग्ने गरेका कारण यस्तो अवस्था सिर्जना भएको बताउनुभयो ।
प्रकाशित मिति : 17:58









