पोर्चुगलमा फेरि देशव्यापी लकडाउन, विद्यालय भने खुल्ला रहने
२ माघ, । कोरोनाभाइरसको संक्रमण अचानक बढेपछि युरोपेली मुलुक पोर्चुगलले फेरि देशव्यापी रूपमा लकडाउन घोषणा गरेको छ । प्रधानमन्त्री एन्टोनिओ कोस्टाले बिहीबार मध्यरातदेखि लागु हुने गरी लकडाउन घोषणा गरेका हुन्। एकैदिन साढे १० हजार नयाँ संक्रमित थपिएपछि र १५६ जनाको मृत्यु भएपछि पोर्चगलमा लकडाउन भएको हो।ुनियम प्रष्ट छस् घरमै बस्नुस्,’ कोस्टाले भने,‘सम्भव भएसम्म घरबाटै काम गर्नु अनिवार्य छ।’

यसपालिको लकडाउनमा विद्यालय भने खुलै रहने उनले बताए। बच्चाहरूको भविष्यका लागि विद्यालय खुलै राखिएको प्रधानमन्त्री कोस्टाको भनाइ छ। लकडाउनको नियम तोड्नेलाई पहिलाभन्दा दोब्बर सजाय गरिने उनले बताए।
पोर्चुगलमा जनवरी २४ मा राष्ट्रपतिको चुनाव हुँदैछ। सरकारले चुनावका दिन लकडाउनका प्रतिबन्धहरू खुला गरिने जनाएको छ। कोरोनाको महामारीले चुनावी अभियानमा प्रभाव पारेको छ। त्यसले मतदान कम हुने आशंका गरिएको छ।
दुई सातापछि लकडाउन जारी राख्ने कि हटाउने भन्नेबारे समीक्षा हुनेछ। प्रधानमन्त्री कोस्टाले अवस्थामा उल्लेख्य परिवर्तन नआएसम्म लकडाउन जारी रहने बताएका छन्।लिस्बन विश्वविद्यालयका इपिडेमिओलोजिस्ट म्यानुअल कार्मो गोम्सले संक्रमणको अवस्था क्रिसमसभन्दा पहिलाको अवस्थामा आउन ८ हप्तासम्म लाग्ने बताएका छन्। कोरोनाभाइरसको संक्रमण बढेपछि यसअघि अर्को युरोपियन मुलुक बेलायतले पनि देशव्यापी लकडाउन घोषणा गरेको थियो भने फ्रान्सले साँझ ६ बजेपछि रात्रीकालीन कर्फ्यू लगाएको थियो।
प्रकाशित मिति : January 15, 2021 at 12:41 pm









