अमेरिकी राष्ट्रपति ट्रम्प विरुद्धको महाभियोग प्रस्ताव तल्लो सदनबाट पारित
१ माघ, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प इतिहासमै दुई पटक महाभियोग लाग्ने पहिलो राष्ट्रपति बन्नु भएको छ ।राष्ट्रपति ट्रम्प विरुद्ध महाभियोग लगाउने प्रस्ताव अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सबाट पारित भएको हो ।गत साता अमेरिकी संसद् भवनमा भएको हूलदङ्गालाई प्रोत्साहित गरेको अभियोगमा उहाँ विरुद्ध डेमोक्र्याट सांसदहरूले महाभियोग प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

संसदमा महाअभियोग सम्बन्धी प्रस्तावमा भएको मतदानमा महाभियोग प्रस्तावको पक्षमा २ सय ३२ मत परेको छ भने विपक्षमा १ सय ९७ मत परेको छ । महाभियोग पारित हुन २ सय १७ मत आवश्यक हुन्छ ।तल्लो सदनमा डेमोक्र्याटिक पार्टीका २ सय २२ जना सांसदहरु छन् । तर ट्रम्पले प्रतिनिधित्व गर्ने दल रिपब्लिकन पार्टीका १० जना सांसदले महाभियोगको पक्षमा मतदान गरेको सभामुख न्यान्सी पेलोसीले जानकारी दिनुभयो ।
महाअभियोग प्रस्ताव माथिल्लो सिनेटबाट पनि पारित हुनुपर्छ । त्यसका लागि दुई तिहाइ बहुमत आवश्यक हुन्छ ।यस अघि सन् २०२० मा पनि राष्ट्रपति ट्रम्प विरुद्धको महाअभियोग प्रस्ताव तल्लो सदनले पारित गरेको थियो । तर माथिल्लो सदन सिनेटमा दुई तिहाई बहुमत पुर्याउन नसक्दा ट्रम्प आरोप मुक्त हुनु भएको थियो ।
प्रकाशित मिति : 10:04









