मुलुक निर्वाचनमा गइसक्यो, जनतामा जान नडराऔँः मन्त्री नेम्वाङ
१ माघ, पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले मुलुक निर्वाचनमा गइसकेकाले लोकतान्त्रिक शक्ति जनतामा जान डराउनु नहुने बताउनुभएको छ । पार्टीभित्रैबाट सरकारलाई सफल हुन नदिने अवस्था आएपछि जनतामा जानुको विकल्प प्रधानमन्त्री केपी शर्मा ओली र सरकारसँग नरहेकाले प्रतिनिधिसभा विघटन गरी निर्वाचनको घोषणा गरिएको उहाँको भनाइ छ ।
फिदिम नगरपालिकाको आठौँ नगरसभाको बुधबार उद्घाटन गर्दै उहाँले प्रतिनिधिसभामा ६४ प्रतिशत मत रहे पनि सरकार सबैतिरबाट अप्ठ्यारोमा परेपछि जनतामा जाने विकल्प रोजिएको जानकारीदिनुभयो । “पार्टीभित्रैबाट सरकारलाई चल्न नदिने अवस्था आएपछि मुलुकलाई जकट्याएर राख्नुहुन्छ ?”, उहाँले प्रश्न गर्नुभयो, “पार्टीबाट उत्पन्न गरिएका समस्या सरकारले कहाँ राख्ने ? त्यसैले जनतामा जानुपरेको हो ।”

अभिमत लिन जनतामा जाने कुराभन्दा वैधानिक र लोकतान्त्रिक काम अरु हुन नसक्ने जनाउँदै मन्त्री नेम्वाङले निर्वाचनमा जाने कामले कसरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई समस्यामा पार्यो ? प्रश्न गर्नुभयो । “मुलुक डुब्ने, प्रतिगमन हुने, सङ्घीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्नेजस्ता भ्रमले निर्वाचन रोकिदैन” ।
नगरसभामा नगर उपप्रमुख उर्मिला प्रधान श्रेष्ठले नगरपालिकाको गत आर्थिक वर्षको समीक्षासहित चालु आर्थिक वर्षको संशोधित बजेट प्रस्तुत गर्नुभएको थियो । उहाँले रु ८६ करोड ६३ लाख ५२ हजार ७३१ को संशोधित बजेट नगरसभामा प्रस्तुत गर्नुभएको हो ।
प्रकाशित मिति : 09:55









