२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

१५ तस्बीरमा हेर्नुहोस् युवासंघको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेला

२५ पुस, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई जनताको पक्षमा काम गर्न पार्टीभित्रैबाट असहयोग गरिएकाले आफूले बाध्य भएर प्रतिनिधिसभा विघटन गर्नुपरेको प्रष्टीकरण दिनुभएको छ । युवा सङ्घ नेपालले आज यहाँ आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उहाँले पार्टीभित्रैबाट संविधान कार्यान्वयन हुन नदिने, लोकतान्त्रिक संस्थालाई निकम्मा पार्ने र संवैधानिक निकायमा रिक्त पदपूर्ति गर्न नदिएर बखेडा झिकिएको बताउनुभयो ।

“सरकारलाई काम गर्न नदिने, कानून बनाउन नदिने, कानून संसद्मा राख्यो पेश हुनै नदिने र संसदीय समितिले सरकारलाई अप्ठ्यारो पार्ने काम भयो । जुन गतिका साथ अगाडि बढ्नुपर्ने थियो त्यो गतिका साथ अगाडि बढ्ने काम नभएपछि चुनावमा गएर नयाँ जनादेश ल्याएर देशलाई अगाडि बढाउनुपर्छ भनेर मैले निर्वाचनको घोषणा गरेको हुँ”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्रीले ताजा जनादेशका लागि भनेर आफूले निर्वाचनको घोषणा गर्दा पार्टीभित्र र बाहिरका व्यक्ति अत्तालिएको बताउनुभयो । आफूले जनअपेक्षाअनुसार काम गर्दा पार्टीभित्रका केही नेता आत्तिएर आफूलाई प्रधानमन्त्रीबाट हटाउन लागिपरेको उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा युवा सङ्घका पूर्वअध्यक्ष एवं पूर्वमन्त्री महेश बस्नेतले प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै संसद् विघटनको विरुद्धमा बोल्नुको कुनै अर्थ नरहेको बताउनुभयो । ताजा जनादेशका लागि जनतामा जान्छु भन्नु कसरी निरंकुशता हुन्छ भन्ने प्रश्न गर्दै उहाँले निर्वाचनको मिति घोषणा गरेर जानु अग्रगमनकारी कदम भएको दावी गर्नुभयो ।तस्बीरहरूः राजन काफ्ले

 

प्रकाशित मिति : 20:26