समतामुलक समाज बनाउन मानवीयता अत्यावश्यक छः मुख्यमन्त्री गुरुङ
२१ पुस, काठमाडाैँ । समतामुलक समाज निर्माण गर्नका लागि मानवीयता अत्यावश्यक रहेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बताउनु भएको छ । सहयोगापेक्षी सडक मानवहरुको राष्ट्रिय उद्धार अभियानका अभियन्ताहरुलाई पोखरामा स्वागत एवं सडकसेवा र अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।
मानवसेवा आश्रमले मानवता प्रवर्द्धन र यस पौष, माघ महिनाको समयमा चिसो सडकपेटीमा कठ्याङ्ग्रिएर कसैले पनि जीवन त्याग्न नपरोस् भन्ने उद्धेश्य सहित यस मेची महाकाली अभियानको सुरुवात गरिएको मानवसेवा आश्रमका केन्द्रीय एवं संस्थापक अध्यक्ष रामजी अधिकारीज्यूले बताउनुभयो ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा मन्चमा आसिन मुख्यमन्त्री गुरुङले मानवसेवा आश्रमले वास्तविक मानवसेवा गरिरहेको बताउनुभयो । “समाजलाई सम्वृद्ध बनाउन सबैजनामा मानवीयताको भावना विकास गर्नु जरुरी छ । हाम्रो समाजको खानपान, ब्यबहारले गर्दा सबैजनालाई मानसिक रुपमा कुनै न कुनै प्रकारको असर परिरहेको छ तर त्यसबाट उन्मुक्ति पाउन परिवार, समाज, सरकार सबैको अतुलनीय भूमिका रहने गर्छ ।

सहयोगापेक्षी सडकआश्रित मानवहरुको व्यवस्थापनको लागि गण्डकी प्रदेश पूर्ण रुपमा प्रतिबद्ध रहेको छ । अहिले आश्रमको गण्डकी प्रदेशमा ४ जिल्लामा सेवाकेन्द्रहरु रहेका छन् । त्यति सेवाकेन्द्रहरुले पुग्दैन भने हामि थप गर्नका लागि पनि तयार छौँ । अहिले सन्चालनमा रहेका सेवाकेन्द्रहरुको स्तरोन्नतिको लागि पनि हामि तयार छौं ।” मुख्यमन्त्री गुरुङले भन्नुभयो ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख ज्ञान प्रसाद ढकालले सम्पूर्ण स्थानीय तहको साथ र सहयोग रहँदै आएको छ । हाम्रो तर्फबाट हुनसक्ने सेवाको लागि हामि तयार छौं । अहिलेसम्म साथ दिँदै आएका छौं र आगामी दिनमा पनि निरन्तरता दिनेछौं, उहाँले भन्नुभयो ।
सडकमानव व्यवस्थापनमा प्रहरीको पहिलो सहयात्री मानवसेवा आश्रम
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले नेपाल प्रहरीको पहिलो सहयात्री मानवसेवा आश्रम रहेको प्रतिक्रिया दिनुभएको छ । “सहयोगापेक्षी सडकमानवहरु भेटिएको अवस्थामा हामीले पहिले सम्झने संस्था बनेको छ मानवसेवा आश्रम । त्यस्तै मानवसेवा आश्रमले हरेक समयमा हामीलाई सम्झिएर यो सम्बन्धलाई सुमधुर बनाउनुभएकोमा कृतज्ञ छौं ।” उहाँले भन्नुभयो ।
प्रकाशित मिति : 11:43









