७ असार २०८३, आइतबार | Sun Jun 21 2026

निर्वाचन तोकिएको समयमा नै हुन्छ, ढुक्क भएर तयारीमा लाग्नुहोस्ः मन्त्री ढकाल

१८ पुस, नुवाकोट । पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पार्टीकै साथीका कारण सरकारले राम्रोसँग काम गर्न नसकेको बताउनुभएको छ । आज विदुरमा विदुर नगरस्तरीय कार्यकर्ता भेलामा मन्त्री ढकालले पार्टीभित्रै प्रतिपक्षको भन्दा बढी आलोचना गर्ने नेताका कारण सरकारले गति लिन नसकेको बताउनुभएको हो । “यो सरकारको अहिलेसम्मको अवधि हेर्ने हो भने प्रतिपक्षले भन्दा बढी पार्टीभित्रकै केही नेताहरुले विरोध गरेका पाइन्छ”, मन्त्री ढकालले भन्नुभयो ।

मन्त्री ढकालले सरकारले संसद् विघटन गरेर निर्वाचनको घोषणा संविधानसम्मत भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “संविधानमा विघटन नभएको अवस्थामा बाहेक संसद् पाँच वर्ष चल्नेछ भनेर उल्लेख गरेकाले सरकारले संसद् विघटन गरेको संविधानविपरीत भयो भन्न हुँदैन ।”

मन्त्री ढकालले निर्वाचन हुँदैन कि भन्ने अन्योलतामा नबस्न कार्यकर्तालाई आग्रह गर्नुभयो । “नयाँ जनमतसहित आएर फेरि सरकार चलाउने हो । निर्वाचन तोकिएको समयमा नै हुन्छ । ढुक्क भएर निर्वाचनको तयारीमा लाग्नुहोला”, मन्त्री ढकालले भन्नुभयो ।

प्रकाशित मिति : January 2, 2021 at 9:54 pm