नुवाकोटको बेलकाेटगढीमा पूर्व एमाले सबै ओली समूहमा
-प्रशान्तजंग पाण्डे
१७ पुस, नुवाकोट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनकाे असर स्थानीय तहसम्म परेकाे छ । नुवाकोट जिल्लाकाे बेलकाेटगढी नगरपालिकामा पूर्व एमालेका सबै नेता कार्यकर्ता संस्थापन पक्ष (प्रधानमन्त्री केपी शर्मा ओली समूह)मा क्रियाशिल हुने भएका छन ।

नगरपालिकाकाे सदरमुकाम बाघखाेरमा शुक्रबार भएकाे नगर कमिटीको दाेस्राे विस्तारित बैठकमा पूर्व एमाले समूहका सबै नेता कार्यकर्ता सहभागी भएकाे पार्टी सचिव नवराज तिवारीले जानकारी दिए । पूर्व एमाले समूहका माधव नेपाल पक्षका तीन कार्यकर्ताले भने प्रचण्डलाई नेता मान्न नसकिने भएकाले केही महिनामा खुल्ने जानकारी दिएका छन ।

शुक्रबार भएकाे बिस्तारित बैठकमा १५० बढी नेता उपस्थित भएका छन । यसअघि बिहीबार प्रचण्ड समूहले गरेकाे भेलामा पूर्व एमालेकाे चारपाँच कार्यकर्तामात्र उपस्थित रहेका थिए । गत स्थानीय निर्वाचनमा १० वडा अध्यक्षसहित मेयर पूर्व एमालेले जितेकाे थियाे । तत्कालीन अवस्थामा विजयी वडा अध्यक्ष मध्ये एक जनाले तत्काल नखुल्ने बताए पनि नाैे जना वडा अध्यक्ष र मेयर राजेन्द्ररमण खनाल ओली समूहमा खुलेका छन ।

नेकपाका केन्द्रीय सदस्य समेत रहेका बागमती प्रदेशकाे नेकपा संसदी दलका मुख्य सचेतक केशवराज पाण्डेकाे प्रमुख अातिथ्यतामा भएकाे भेलामा अर्का केन्द्रीय सदस्य ठाकुर गजुरेल, नेकपा जिल्ला कमिटीका सचिवालय सदस्य काशिराज अधिकारी, गाेपालमान श्रेष्ठ, नारायण बस्नेत, रामकृष्ण खड्का लगायतका नेताहरु सहभागी भएका थिए ।



प्रकाशित मिति : 17:06









