७ असार २०८३, आइतबार | Mon Jun 22 2026

प्रचण्ड र माधव नेपालले देशलाई बर्बाद गर्न लागेपछि प्रधानमन्त्री ओली पक्षमा लागेँः मन्त्री साह

१३ पुस, काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपालले देशलाई बर्बाद गर्न लागेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेको सहरी विकास मन्त्री प्रभु साहले बताएका छन्। नेकपा प्रदेश २ का अध्यक्षसमेत रहेका उनले वक्तव्य जारी गर्दै मुलुकमा प्राप्त उपलब्धिहरूको रक्षा गर्न र स्थायित्वका लागि प्रधानमन्त्री ओली नेतृत्वको नेकपाको संस्थापन पक्षलाई साथ दिएकाे उनले बताएका छन्।

विगतमा नेकपामा दुई अध्यक्ष भएकै कारण पार्टी फुटको दिशामा गएको निष्कर्षका साथ दुई अध्यक्ष बनाउन नहुने र त्यसमा पनि माधवकुमार नेपाललाई अध्यक्ष बनाउन नहुने पक्षमा साह रहेका थिए ।

‘दुई अध्यक्षबीचको टकराव एवं नेताहरुको भागवण्डाको झगडाले नै पार्टीको एकता प्रक्रिया पूरा नहुँदै क्षतविक्षत भई जनताको स्थितरताको चाहना र समृद्धिको सपनामाथि ठूलो घात हुनपुग्यो’ उनले विज्ञप्तिमा भनेका छन् , ‘गतल र सही पक्षहरुको गम्भीर समीक्षा गरी सही बाटोमा अगाडि बढ्नुको सट्टा क. प्रचण्डबाट पुरानै गल्तीको पुनरावृत्ति गरियो ।’ ‘प्रचण्डको सत्ता लोभको परिणामस्वरुप कम्युनिष्ट आन्दोलन धरासायी भएको तथा सिङ्गो मुलुक नै अस्तव्यस्त स्थितिमा पुगेको छ।’  महाधिवेसनबाट पराजित माधव नेपाललाई पार्टी नेतृत्वको जिम्मा दिने निर्णयप्रति उनकाे आक्रोस छ ।

नेता नेपाललाई अध्यक्ष बनाउने निर्णय गलत भएको र आफूहरुको सुझावलाई बेवास्ता गरेपछि आफूहरु नयाँ ढंगले अघि बढ्ने निर्णयमा पुगेको उनले बताएका छन् ।  ‘प्राप्त उपलव्धीहरुको रक्षा र विकास गर्न, मुलुकमा स्थायित्व, सुशासन, विकास र समृद्धिको जनआकांक्षा पूरा गर्न, नेपालीहरु बीचको एकतालाई थप सुदृढ गर्दै देशभक्तिलाई नयाँ उचाईमा पुर्याउन म सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र पार्टीमा सक्रियतापूर्वक सहभागी भएको हुँ ’ उनले विज्ञप्तिमा भनेका छन् ।

प्रकाशित मिति : December 28, 2020 at 4:07 pm