११ असार २०८३, बिहिबार | Fri Jun 26 2026

नुवाकोट गोल्डकपको उपाधि भिडन्त अाज, थ्रीस्टार र नेपाल पुलिस भिड्दै

२६ जेठ, नुवाकोट । नुवाकोटमा जारी ‘प्रथम नुवाकोट गोल्डकप’को फाइनलमा पुगेका थ्रीस्टार क्लब र नेपाल पुलिस क्लब उपाधि जित्ने तयारीमा छन् । बट्टार क्याम्पस खेल मैदानमा आज फाइनल खेल हुँदै छ । यसअघि हिजो भएको पत्रकार सम्मेलनमा पुगेका दुवै टोलीले आफूलाई उपाधिको दावदारका रुपमा सोचेर खेल रणनीति तयार पारिरहेको बताए । उपाधि जित्नका लागि टोलीले नीतिभित्र रहेर पर्याप्त खेल कौशल प्रयोग गर्दैै खेल्ने नेपाल पुलिसका प्रशिक्षक अनन्त थापाले बताउनुभयो । “फाइनल गेम जित्ने सम्भावना ५०–५० प्रतिशत हो”, थापाले भन्नुभयो, “थ्रीस्टार पनि कमजोर टिम होइन, हामी पनि कम छैनौंँ ।”

थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले जसले बढी मेहनत गर्न सक्छ उपाधि उसैले जित्ने बताउनुभयो । “फाइनलमा दुवै टिमको ५०÷५० प्रतिशत नै सम्भावना हो । मैदानमा जसले बढी अवसर सिर्जना गर्न सक्छ, उसैले उपाधि उचाल्छ”, केसीले भन्नुभयो । जिल्ला खेलकुद विकास समिति नुवाकोटका अध्यक्ष तथा प्रतियोगिताका संयोजक बुद्धि प्रधानले पहिलो पटक प्रतियोगिता आयोजना गरिएकाले व्यवस्थापनमा धेरै कमजोरी रहे पनि आगामी दिनमा सुधारिने बताउनुभयो ।

अाज हुने फाइनलमा उपाधि जित्नेले रु पाँच लाख तथा उपविजेताले रु तीन लाख पुरस्कार पाउने अायोजक एन्फा नुवाकोटका उपाध्यक्ष उद्वव पनेरूले जानकारी दिए ।जिल्ला खेलकुद विकास समिति र नुवाकोट जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा १० टोलीले सहभागिता जनाएका थिए ।

प्रकाशित मिति : June 9, 2018 at 5:42 am