उपप्रधानमन्त्री इश्वर पोखरेलले प्रधानमन्त्री कार्यालय सम्हाल्ने, रक्षाको जिम्मा ओलीले लिए
२८ असोज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् पुनर्गठन गर्नुभएको छ । उहाले रिक्त रहेका तीन वटा मन्त्रालयमा मन्त्रीहरु नियुक्त गर्दै केहीको जिम्मेवारी पनि हेरफेर गर्नुभएको छ । अब उपप्रधानमन्त्री इश्वर पोखरेलले प्रधानमन्त्री कार्यालयको सञ्चालन गर्नुहुनेछ । प्रधानमन्त्रीले इश्वर पोखरेललाइ प्रधानमन्त्रीको जिम्मेवारीमा अभ्यास्त गराउन रक्षा मन्त्रालयको जिम्मेवारी आफूले लिनुभएको छ ।

दुई मन्त्रीको जिम्मेवारी पनि उहाले हेरफेर गर्नुभएको छ । अर्थ मन्त्रीमा विष्णु पौडेल, सहरी विकास मन्त्रीमा काठमाडौंका कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सिराहका लिलानाथ श्रेष्ठलाई नियुक्त गर्नुभएको छ । त्यस्तै उहाँले सञ्चारमन्त्रीमा पार्वत गुरूङलाइ नियुक्त गर्नुभएको छ ।

तीनै जना मन्त्रीलाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ । मन्त्रीहरु नियुक्त गर्नुअघि प्रधानमन्त्री ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डसँग बालुवाटारमा साढे दुई घण्टा लामो छलफल गर्नुभएको थियो । निरन्तर छलफल गरेर उहाले नयाँ मन्त्रीको छनोट गर्नुभएको हो । नवनियुक्त मन्त्रीहरुको सपथ आजै साँझ वा भोली विहान गराउने तयारी भएको छ ।

प्रकाशित मिति : 17:58









