६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026

बाँदरमुढे घटनाको १३ वर्ष, न्याय प्राप्तिको सवाल ज्युँका त्युँः इन्सेक अध्यक्ष प्याकुरेल

२३ जेठ, काठमाडौँ । अनौपचारिक सेवा केन्द्र (इन्सेक)का अध्यक्ष सुबोधराज प्याकुरेलले बाँदरमुढे घटनाको १३ वर्ष बित्दा पनि न्याय प्राप्तिको सवाल ज्युँका त्युँ रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन । चितवन जिल्लाको माडी क्षेत्रमा पर्ने कल्याणपुर गाविसको बाँदरमुढे खोलामा यात्रुबाहक बसमा विद्युतीय धराप विष्फोट गराएको आज १३ वर्ष पूरा भएको दिन बुधबार विज्ञप्ति मार्फत अध्यक्ष प्याकुरेलले न्याय प्राप्तिको सवाल ज्यूँका त्यूँ रहनु ज्यादै निन्दनीय र दुःखद रहेको बताएका छन ।

 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकार र मानवीय कानुनको पूर्णरूपमा उल्लङ्घन भएका यस्ता घटनाहरूको सत्यतथ्य सार्वजनिक गरी पीडितलाई शीघ्र न्याय दिने विषयमा न त सङ्क्रमणकालीन न्यायका संयन्त्रले तदारुकता नदेखाएको असन्तुष्टि व्यक्त गरेका छन ।

तत्कालीन कल्याणपुर गाविस–१ र ४ को सीमानामा पर्ने बाँदरमुडे खोलामा ना १ ख ३२४५ नं. को बसमा २०६२ साल जेठ २३ गते नेकपा माओवादीका कार्यकर्ताले विद्युतीय धराप विष्फोट गराउँदा ३५ जना सर्वसाधारण र तीन जना सुरक्षाकर्मीसहित ३८ जनाको मृत्यु भएको थियो । घटनामा ७२ जना गम्भीर घाइते भएका थिए । घाइतेमध्ये चार जनाको घटनाको केही समयपछि मृत्यु भएको थियो । यसरी घटनामा मृत्यु हुनेको सङ्ख्या ४२ रहेको छ । घाइतेमध्ये १० जना अहिले पनि औषधी सेवन गर्नुपर्ने अवस्थामा छन् ।

हेर्नुहोस् विज्ञप्ति

प्रकाशित मिति : 16:18