१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

उद्यमशीलता विकास कार्यक्रमका लागि नेपाल बैंकले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने

३१ भदाै, काठमाडाैँ । नेपाल बैंक लिमिटेड र सिन्धुपाल्चोकको लिसङ्खु पाखर गाउँपालिकाबीच उद्यमशीलता विकास कार्यक्रममा सहकार्य गर्ने सम्झौता भएको छ । सो सम्झौतानुसार गाउँपालिकाको ‘अध्यक्ष उद्यमशीलता विकास कार्यक्रम’ ले गाउँबासीलाई व्यवसायिक कृषि, तथा पशुपंछीमा आधारित उद्यम व्यवसाय, वन (जडिबुटी, वनपैदावार) मा आधारित उद्यम व्यवसाय, पर्यटन प्रबद्र्घनमा आधारित उद्यम व्यवसाय, उत्पादनमुलक उद्यम व्यवसाय, निर्माणमा आधारित उद्यम व्यवसाय, सेवामूलक उद्यम व्यवसाय सञ्चालनमा ल्याउन सहकार्य हुनेछ ।

सम्झौतामा बैकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र गाउँपालिकाका अध्यक्ष कमलप्रसाद नेपालले हस्ताक्षर गर्नुभएको हो । कार्यक्रममले वैदेशिक रोजगारीबाट फर्किएका तथा गाउँपालिकामै रहेका बेरोजगार नागरिकलाई उद्यम व्यवसायमा आर्कषित गर्न, स्वरोजगार, व्यावसायिक एवं उद्यमी बनाउन, आवश्यक दक्ष जनशक्ति तयार गर्न, तथा उद्यमशीलता विकासका लागि आवश्यक सहयोग प्रदान गरी गाउँपालिकाको विषेशतामा आधारित लघु, घरेलु, साना तथा मझौला व्यवसायको विकास र प्रवद्र्धन गराउने छ ।

कार्यक्रमअन्तर्गत गाउँवासी एवं सहुलियतपूर्ण कर्जामा उद्यम व्यवसायका लागि ब्याज अनुदान कार्यविधि २०७७ अन्तर्गत योग्यता पुगेका उद्यमीलाई ऋण प्रवाह तथा ब्याज अनुदान दिई स्वरोजगारीको अवसर तथा उद्यम प्रवद्र्धन गर्न, विदेशबाट फर्केका युवाको विदेशमा आर्जन गरेको सीप र व्यावसायिक दक्षता उपयोग गर्दै उनीहरुलाई स्वरोजगार बनाउन, महिला उद्यमशील क्षमताको विकास गर्न, दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकीकरण गरी व्यवसायिकता अभिवृद्धि गर्नेछ ।

गाउँपालिकाले एक कोष खडा गरी नेपाल बैंक लि पाँचखाल शाखामा ग्यारेण्टीको रुपमा रकम जम्मा गर्दै जाने, बैंकद्वारा छनोट भएका उद्यमी एवं व्यावसायीलाई सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्रवाह गर्ने र सो कर्जा समयमा चुक्ता गराउन गाउँपालिकाद्वारा सहयोग गर्ने सहमति भएको बैँकका प्रवक्ता प्रकाशकुमार अधिकारीले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार २२:११