१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

नेप्सेको उकालो यात्रा जारी, १ अर्ब ८५ करोड बढीकाे काराेबार

९ भदौ, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झण्डै १० अङ्कले बढेको छ । कोरोनाको सङ्क्रमण बढ्दै गएपछि सरकारले निषेधाज्ञा जारी गरेको भएपनि शेयर बजारमा भने त्यसले असर पारेको छैन । पछिल्ला तीन दिनमा बजार लगातार उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ९.३४ बिन्दुले बढेर एक हजार ४४०.९४ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.८३ ले वृद्धि भई २९८.९७ मा पुगेको छ । कूल १८९ कम्पनीको ३९ लाख ४० हजार ६९१ कित्ता शेयर रु एक अर्ब ८५ करोड ५१ लाख ८० हजार ५१० मा खरिद बिक्री भएका छन् ।

लगातार शेयर बजार उकालो लाग्दा बजार पूँजीकरणसमेत बढेर झण्डै रु १९ खर्ब बराबरको भएको छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ । व्यापार ३.०६, उत्पादन ७.२५ र सामूहिक लगानी कोष ०.०१ ले घटेको छ । यस्तै बैंकिङ १.९२, होटल १०.२, विकास बैंक २.७७, जलविद्युत् ९.०५, वित्त १.२, निर्जीवन बीमा ३२.२६, अन्य १८.५७, लघुवित्त २०.०८ र जीवन बीमा १५१.७३ ले बढेको छ । कारोबारका आधारमा आज शीर्ष स्थानमा नेपाल पुनरबीमा कम्पनी रहेको छ । सो कम्पनीको रु २८ करोड ७४ लाख पाँच हजार ८९८ बराबरको कारोबार भएको छ ।

यस्तै, नेको इन्स्योरेन्स रु १४ करोड २६ लाख ५५ हजार २०६, सूर्या लाइफ इन्स्योरेन्स रु आठ करोड ४३ लाख ५६ हजार १०५, नेपाल लाइफ इन्स्योरेन्स रु आठ करोड नौ लाख ९७ हजार ३७० र एशियन लाइफ इन्स्योरेन्स कम्पनी रु पाँच करोड ९१ लाख २२ हजार ७५१ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।

स्टकका अनुसार नेपाल पुनरबीमा कम्प्नी ७.६९, आशा लघुवित्त वित्तीय संस्था ६.१९ , सूर्या लाइफ इन्स्योरेन्स ५.९१, पञ्चकन्या माइ हाइड्रोपावर ५ र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका शेयरधनीले ४.७४ प्रतिशतले कमाए । त्यस्तै, समृद्धि फाइनान्स यूनियन हाइड्रोपावर ६.५४, नेशनल हाइड्रोपावर ४.९२, पोखरा फाइनान्स २.६१ र रिडी हाइड्रोपावरका लगानीकर्ताले २.३३ प्रतिशतले कमाए ।

प्रकाशित मिति : August 25, 2020 at 6:22 pm