१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

शेयर लगानीकर्तालाई विद्युतीय माध्यमबाट कारोवार गर्न आग्रह

५ भदाै, काठमाडाैँ । धितोपत्र व्यवसायीहरुको संस्था ब्रोकर्स एसोसिएसन अफ नेपालले शेयर लगानीकर्तालाई कारोवारको भुक्तानी विद्युतीय माध्यमबाट गर्न आग्रह गरेको छ । एसोसिएसनद्वारा आज यहाँ जारी विज्ञप्ति मार्फत धितोपत्र खरिद गर्न चाहने लगानीकर्ताले अनलाइन बैंकिङ तथा कनेक्ट आईपीएस लगायतका विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध हुन र सोही अनुसार कारोवार गर्न भनेको हो ।

यस्तै धितोपत्र दलाल व्यवसायीलाई अग्रीम रुपमा तथा धितोपत्र खरिद पश्चात गर्ने भुक्तानी समेत विद्युतीय माध्यमबाट मात्रै गर्न आग्रह गरिएको छ । राजधानी काठमाडौँलगायतका विभिन्न स्थानमा कोरोनाको सङ्क्रमण फैलिएपछि सरकारले निषेधाज्ञा घोषणा गरेको सन्दर्भमा त्यसलाई पूर्ण रुपमा परिपालना गर्दै एसोसिएशनले यस्तो विषम अवस्थामा सिमित बैंकिङ कारोबार भएको तथा चेक मार्फत शेयर खरिद कारोबारको भुक्तानी गर्न खोज्दा धितोपत्र दलाल व्यवसायीलाई अप्ठ्यारो पर्ने जनाएको छ ।

एसोसिएशनले नेपाल धितापत्र बोर्डले यही भदौ ३ गते जारी गरेको निर्देशन र त्यसमा उल्लेख भए अनुसार थप १५ दिन भित्रमा धितोपत्र दलाल व्यवसायी र लगानीकर्ताबीच हुने कारोबारको रकम विद्युतीय भुक्तानी माध्यमबाट मात्रै गर्न समेत पुनः स्मरण गराइएको छ । सो अवधिमा धितोपत्र दलाल व्यवसायीले विद्युतीय माध्यमबाट भन्दा अन्य माध्यमबाट भुक्तानी लिन नसक्ने समेत स्पष्ट पारेको छ ।

प्रकाशित मिति : August 21, 2020 at 8:59 pm