१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

नेपाल लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क २० प्रतिशतले बढ्यो

३० साउन, काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सकाे खुद बीमाशुल्क अघिल्लो आर्थिक वर्षको तुलनामा करिब २० प्रतिशत बढेकाे छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले २७ अर्ब ३४ करोड ३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.७८ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षमा इन्स्योरेन्सले २२ अर्ब ८२ करोड ५० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

इन्स्योरेन्सले असार मसान्तसम्ममा ५३ करोड ३ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७१ लाख रुपैयाँ बढी हो।

५ अर्ब ४९ करोड ६१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको जगेडा कोषमा ३ अर्ब ५० करोड ७७ लाख रुपैयाँ, जीवन बीमा कोषमा ८७ अर्ब २ करोड र महाविपत्ती कोषमा ५५करोड ४९ लाख रुपैयाँ सञ्चित छ। अघिल्लो आर्थिक वर्षमा इन्स्योरेन्सको यस्ता कोषहरुमा क्रमशः २ अर्ब ४३ करोड, ६५ अर्ब ३६ करोड र ४३ करोड रुपैयाँ थियो।

अघिल्लो आर्थिक वर्षमा ११ अर्ब ८८ करोड रुपैयाँ बीमालेख धितोमा कर्जा लगानी गरी १ अर्ब ८ करोड रुपैयाँ कमाएको यस इन्स्योरेन्सले गत आर्थिक वर्षमा १७ अर्ब ७ करोड यस्तो कर्जा लगानी गरी १ अर्ब ५८ करोड रुपैयाँ कमाएको छ। सो अवधिसम्ममा इन्स्योरेन्सको खुद दाबी भुक्तानी ५ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ।

हालसम्ममा १ खर्ब १९ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको यस इन्स्योरेन्सले गत आर्थिक वर्षमा २७ अर्ब ६२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। असार मसान्तसम्ममा इन्स्योरेन्समा १३ लाख ४ हजारभन्दा बढी बीमालेखहरु कायम छन्। सो अवधिसम्ममा ४० हजार २४३ दाबी बापत ६ अर्ब ६७ करोड रुपैयाँ भुक्तानी गरीसकेको यस इन्स्योरेन्सले अझै १ अर्ब ६१ करोड रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ।

इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ९.६५ रुपैयाँ कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ ९२ पैसा कायम भएको छ। त्यसैगरी, इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात १३०.५७ गुणा रहेको छ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार ११:४७