१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

सिटिजन लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा १६४ प्रतिशतले वृद्धि

२८ साउन, काठमाडाैँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा कोषमा १६४ प्रतिशतले वृद्धि गरेको छ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आ.व. २०७६/०७७ को चौथाैँ त्रैमासिक (आषाढ मसान्त) सम्मको वित्तीय बिबरण सार्वजनिक गर्दै जीवन बीमाकोषमा १६४ प्रतिशतले वृद्धि गरेको जनाएको छ ।

गत आषाढ मसान्तमा कम्पनीको जीवन बीमा कोष रु. ६३ करोड ४८ लाख रहेकोमा यस आषाढ मसान्तमा सो रकम १ अर्व ६७ करोड ८८ लाख पुगेको छ । कम्पनीले गत आ. व. को आषाढ मसान्तसम्ममा कुल बीमा शुल्क रु. १ अर्व १६ करोड ५१ लाख संकलन गरेकोमा यस आ. व. को सोही अवधिमा रु. १ अर्व ९६ करोड ८३ लाख कुल बीमाशुल्क संकलन गर्न सफल भएको देखिन्छ । यसरी हेर्दा बीमा शुल्क आर्जन ६९ प्रतिशतले बढेको देखिन्छ ।

समीक्षा अवधिमा जीवन बीमा कोषमा १६४ प्रतिशतले बृद्धि गराउन सफल कम्पनीले जगेडा तथा कोषको आकार पनि २२ करोड ८६ लाखबाट ११७ प्रतिशले बढाएर ४९ करोड ६१ लाखको उचाई छोएको छ । साथै, कम्पनीले लगानी र बीमालेखको धितो तथा अन्य कर्जाबाट प्राप्त हुने आयमा ३१ प्रतिशतको वृद्धि गरी गरी रु. ३३ करोड ८३ लाख पुर्याएको छ ।

जीवन बीमा व्यवसायमा लगानीको अवधिले कम्पनीको आयमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले कम्पनीले दीर्घकालीन लगानी तथा कर्जालाई प्राथमिकता दिई कुल लगानी तथा कर्जा रकम रु ३ अर्व ८६ करोड ८८ लाख मध्ये करिब ९१ प्रतिशत रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन अवधिको ऋणपत्र तथा मुद्धती निक्षेपमा लगानी गर्न सफल भएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार ०७:३५