१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

खाद्य सामग्री वितरणः बालबालिकाको पोषण र सिकाइमा सहयोग

२१ साउन, काठमाडौँ । सरकारले संयुक्त राष्ट्र,विश्व खाद्य कार्यक्रमसँगको सहकार्यमा सुदूरपश्चिम र कर्णाली प्रदेशका ग्रामीण क्षेत्रका बालबालिकालाई चामल, दाल र वनस्पति तेल वितरण गरेको छ । कक्षा १ देखि ८ सम्मका बालबालिकाहरुलाई अमेरिकन सरकार प्राप्त करिव एकहजार ५०० मेक्ट्रिक टन ती खाद्य सामग्री वितरण गरिएको हो । विगतमा प्राप्त गर्ने गरेको विद्यालय पौष्टिक खानाबाट हाल ती बालबालिका वञ्चित रहेका जनाइएको छ । कोरोनाको जोखिम हुन नदिन विद्यालय बन्द हुँदा उनीहरु पौष्टिक खानाबाट वञ्चित रहेका थिए ।

विद्यालय वन्द हुँदा बालबालिकाको सिक्ने क्षमतालाई नभई पौष्टिक खाना र स्वास्थ्य सहयोगका योजनाको पहुँचलाई समेत असर पुर्याएको यहाँस्थित विश्व खाद्य कार्यक्रमले जनाएको छ ।कार्यक्रमद्वारा आज यहाँ जारी विज्ञप्तिमा गत चैत महिनामा लकडाउन जारी भएपछि नेपालमा दुईलाख ५० हजारभन्दा बढी बालबालिका विगतमा विद्यालयमा प्राप्त हुने गरेका पौष्टिक खानाबाट विमुख रहेका जनाइएको छ । यी पौष्टिक खानामा धेरै बालबालिकाहरु भर पर्ने गरेका थिए । अमेरिकी सरकारबाट प्राप्त सहयोगले यस क्षेत्रका एक लाख ५० हजार संकटासन्न घरपरिवारलाई सहयोग पुग्ने विश्वास गरिएको छ ।

“हामी मध्येकै सवैभन्दा संकटासन्नलाई सहयोग र संरक्षण गर्न नेपालसँग हातेमालो गर्न पाउँदा अमेरिकी सरकार गर्वान्वित छ ।” नेपालका लागि अमेरिकी राजदुत र्यान्डी बेरी भन्नुहुन्छ, “सुदूर पश्चिम र कर्णाली प्रदेशका विद्यालय वालवालिकाहरुलाई रासन वितरण गर्न संयुक्त राष्ट्र विश्व खाद्य कार्यक्रम र नेपाल सरकारसँग हाम्रो साझेदारीले यस जटिल अवधिभर १ लाख ५० हजार घरपरिवारलाई सहयोग पुर्याउनेछ ।”
सन् २००५ देखि अमेरिकाको कृषि विभागअन्तर्गतको म्याकगभर्न डोल शिक्षाका लागि खाद्यान्न र वालपोषण कार्यक्रमले नेपालमा विश्व खाद्य कार्यक्रमको दिवा खाजा कार्यक्रमलाई सहयोग गरिरहेको छ ।

एकासी मिलियन अमेरिकी डलर भन्दा बढीको योगदानबाट अमेरिकी म्याकगभर्न डोलले दुई लाख ५० हजार भन्दा वढी बालबालिकाहरुलाई विश्व खाद्य कार्यक्रमको दिवा खाजा कार्यक्रम मार्फत दैनिक पौष्टिक खानामा पहुँच पुर्याउन सहयोग गरेको विज्ञप्तिमा उल्लेख छ । विश्व खाद्य कार्यक्रमका देशीय निर्देशक तथा प्रतिनिधि पिप्पा ब्रैडफोर्ड भन्नुहुन्छ, “बन्दाबन्दीले अभिभावकहरुलाई आफ्ना बालबालिकाहरुलाई घरैमा सन्तुलित र पौष्टिक खाना उपलव्ध गराउन धौ धौ पारेको छ । यी घरघरमा जाने रासनले बालबालिकाहरु घरैमा सिकाइ सुविधा प्राप्त गरुञ्जेल र विद्यालय नफर्कुञ्जेलका लागि अन्तरीम राहत प्रदान गर्नेछ ।

विशेषगरी, यस्तो अनिश्चित समयमा विद्यालय बालबालिका र नेपालका ग्रामीण परिवारलाई सहयोग गरेकोमा हाम्रो लामो समयदेखिको साझेदार अमेरिकी सरकारप्रति हामी आभारी छौं ।”दीर्घकालिन र राष्ट्रिय स्तरबाट नै विद्यालय दिवा खाजा कार्यक्रम सञ्चालनका लागि विश्व खाद्य कार्यक्रमले अमेरिकी म्याकगभर्न डोलसहयोग प्राप्त गरिरहेका विद्यालयहरु सरकारलाई हस्तान्तरण गर्न शुरु गरेको छ । लगभग ९५ हजार बालबालिका राष्ट्रिय दिवा खाजा कार्यक्रम एकत्रित भैसकेका छन् ।

कार्यक्रमले अमेरिकी सहयोगमा विद्यालयहरुमा स्थानीय खाद्यान्नहरुको आपूर्ति सुनिश्चित गरी व्यापक बनाउन र सामुदायिक स्वामित्व विस्तार गर्नका लागि थप प्रयास गरेको विज्ञप्तिमा जनाइएको छ । संयुक्त राष्ट्र विश्व खाद्य कार्यक्रम आपत्कालिन अवस्थामा जीवन वचाउने, द्वन्द्व, विपद् र जलवायु परिवर्तनको प्रभावबाट व्यक्तिहरुलाई पुनर्लाभ गरी समृद्धि निर्माण गर्ने र दिगो भविष्यलाई सहयोग पु¥याउने मानवीय संस्था हो ।

प्रकाशित मिति : August 5, 2020 at 5:16 pm